गान्तोक :
नेपाली सुपरहिट चलचित्र ‘ऊनको स्वीटर’ सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा आयोजित भव्य प्रिमियरमार्फत भारतमा आधिकारिक रूपमा प्रवेश गरेको छ। सिक्किमका प्रतिष्ठित व्यक्तित्व, कलाकार र दर्शकको उत्साहपूर्ण सहभागितासहित प्रिमियर सम्पन्न भयो।
प्रमुख अतिथिमा पूर्व विधायक तथा मुख्यमन्त्री प्रेम सिंह गोलेकी श्रीमती कृष्णा कुमारी राई उपस्थित थिइन्। कार्यक्रममा सिक्किम चलचित्र विकास बोर्डका अध्यक्ष टाँसी छिरिङ भुटिया, सिक्किम प्रहरी प्रमुख खेल वर्ण गुरुङ, श्रम विभागका अध्यक्ष प्रेमराज गुरुङ, संस्कृति बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई, शिक्षा विभागका प्रमुख छोपेल शेर्पासहित राज्यका उच्च अधिकारीको उपस्थिति उल्लेखनीय रह्यो। नेपालबाट अभिनेता विपिन कार्की, कलाकार भावना खपांगी मगर, गायक सुजन चापागाईँ, निर्देशक नवीन चौहान, निर्माता तथा प्राविधिक समूहको उपस्थिति थियो।
प्रमुख अतिथि राईले चलचित्रले नेपाली भाषी समुदायबीचको सांस्कृतिक एकता र भावनालाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको भन्दै प्रशंसा गरिन्। ‘ऊनको स्वीटर–२’ हेर्ने इच्छा व्यक्त गर्दै उनले सिक्किम सरकारले नेपाली भाषाका चलचित्रलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाइन्।
निर्देशक नवीन चौहानले सिक्किमेली दर्शकमाझ चलचित्र प्रस्तुत गर्न पाउनु गर्वको विषय भएको बताए। भारतभरका नेपाली भाषी दर्शकको साथले नेपाली चलचित्रको बजार विस्तार हुने विश्वास व्यक्त गरे।
दर्शकहरूले सिक्किममा पहिलो पटक यति ठूलो प्रिमियर हेर्न पाएकोमा उत्साह प्रकट गरे। “भारतमा यसको भविष्य उल्लेखनीय देखिन्छ,” एक दर्शकले प्रतिक्रिया दिए।
चलचित्र आजदेखि भारतका १४ प्रमुख हलमा प्रदर्शनमा आएको छ। दार्जिलिङको एसभिएफ सिनेमा, कर्स्याङको फन्टाजी सिनेमा, नाम्ची इम्पेरियल, गान्तोकका डेन्जोङ, वज्र र आईएनओएक्स, सिलिगुडीका सिनेमा सिटी सेन्टर, वेगा सर्कल, एग्रोपोलिस र साउथ सिटी सिनेमाहरू प्रमुख छन्। नयाँ दिल्ली, असामलगायत क्षेत्रमा भने आगामी हप्ता रिलिज हुनेछ। टिकट बिक्री सुरु भएलगत्तै उत्साहजनक अग्रिम बुकिङ देखिएको छ।
गायक सुजन चापागाईँ र कलाकार टोलीले दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ र कालिम्पोङका हलमा दर्शक भेटघाट कार्यक्रम गर्ने भएका छन्। भारतका वितरक एसली प्रोडक्सनका प्रमुख एवन राईले सिक्किम सरकार र स्थानीय समुदायको समर्थनले नेपाली चलचित्रलाई भारतभर स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
बुधबार एमजी रोड, गान्तोकमा आयोजित ‘ऊनको स्वीटर साँझ’मा हजारौँ दर्शक उपस्थित रहे। नेपालबाट आएका कलाकारको उपस्थिति र सुजन चापागाईँको लाइभ प्रस्तुति मुख्य आकर्षण बनेको थियो।
गत वैशाख २६ गते नेपालमै रिलिज भएको ‘ऊनको स्वीटर’ करिब ४० हलमा ५१ दिन प्रदर्शन भई वर्षकै सफल चलचित्र बनेको थियो। करिब १२ करोड रुपैयाँ कमाईसहित उत्कृष्ट अभिनय, कथा र संगीतका कारण समीक्षक र दर्शक दुवैबाट उच्च प्रशंसा पाएको चलचित्र भारतमा पनि त्यही सफलता दोहोर्याउने अपेक्षा गरिएको छ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेललगायत कलाकारको अभिनय छ। सुजन चापागाईँको स्वर, कोविद बज्रको संगीत, चिन्तन राज भण्डारीको छायाङ्कन तथा कृष्ण भण्डारीले सम्पादन र रङ्ग संयोजन गरेका छन्।