काठमाडौं :
चलचित्र कलाकार संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उत्तम केसी (चुइ चुइ’पारेर विजयी भएका छन्। कुल ३५६ मत खसेको उक्त प्रतिस्पर्धामा केसीले २१६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी सबिन श्रेष्ठलाई ८४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। पराजित श्रेष्ठले १३२ मत मात्रै प्राप्त गर्न सके।
निर्वाचनमा अध्यक्षसहित अधिकांश मुख्य पदहरूमा केसीकै प्यानलको बर्चस्व कायम भएको छ। उपाध्यक्ष पदमा केसी प्यानलकै शिवहरी नेपाल ९बैरागी० १४६ मत र पूजना प्रधान १४४ मतसहित विजयी भएका छन्। त्यसैगरी, महासचिव पदमा पनि उत्तमकै टिमका सुनील कटवाल १९५ मत ल्याएर निर्वाचित हुँदा सबिनको टिमका रामेश्वर बुर्लाकोटीले १२५ मतमा चित्त बुझाउनु पर्यो।
सचिव पदमा गोपाल ढकाल २१४ मतका साथ विजयी भएका छन् भने उनकी प्रतिस्पर्धी पल्पसा डंगोलले ११० मत मात्र प्राप्त गरिन्। विजयी ढकाल पनि उत्तम केसीकै प्यानलका हुन्। कोषाध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धाका बीच तेजुला खतिवडा १४९ मतसहित निर्वाचित भएकी छिन्। सो पदमा पवित्रा आचार्यले १०६ र खुश्व खड्काले ५८ मत प्राप्त गरे।
सहकोषाध्यक्ष पदमा भने तीव्र प्रतिस्पर्धा देखिएको छ। पवन केसी १६१ मत ल्याएर विजयी हुँदा उत्तमको प्यानलबाट चुनाव लडेकी गीता नेपाल जम्मा ८ मतको अन्तरले पराजित भइन्। नेपालले १५३ मत प्राप्त गरेकी थिइन्।
यसैगरी, संघको नयाँ कार्यसमितिको सदस्य पदमा १० जना कलाकारहरू निर्वाचित भएका छन्। विजयी हुनेहरूमा इन्द्रबहादुर लामा (खम्बे), चन्द्रकला (मोनिका) दाहाल, चन्द्रकला राई ९लब्ली संगम०, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान इकु रहेका छन्। यो जितसँगै चलचित्र कलाकार संघमा आगामी कार्यकालका लागि उत्तम केसीको नेतृत्वमा नयाँ कार्यसमिति स्थापित भएको छ।