सुचना, समाचार र मनोरन्जन
Sarangi

सरसफाइमा सक्रिय महिला कामदार

 

काठमाडौं : चाडपर्वका लागि खर्च जुटाउन शङ्खमूलकी ३७ वर्षीया जैसरा दवाडी कामको खोजीमा भौतारिरहेकी थिइन् । जीविकोपार्जनका लागि आफैँले खर्च जुटाउनुपर्ने बाध्यतामा रहेकी उनी छोटो समयमा पर्व मनाउने खर्च जुटाउन कामको खोजीमा थिइन् ।

 

काम खोज्ने क्रममा उनले एक जना साथीमार्फत काठमाडौं महानगरपालिकामा रोजगार माग गर्न पाइने सूचना पाइन् । तिहार आफैँमा खर्चिलो पर्व भएकाले दवाडीले सुरुमा श्रीमान्लाई निवेदन दिन आग्रह गरिन्। श्रीमती र श्रीमान् भएर पालिकामा पुगे र रोजगारको बारेमा सोधे ।

 

सडक र बाटोघाटो सरसफाइमा काम पाइने जानकारी पाएपछि दवाडीका श्रीमान्ले काम नगर्ने जनाए। ‘फोहर उठाउने काम गर्दिन भन्दै श्रीमान् घर फर्किनुभयो’, दवाडीले भनिन् । दवाडीले भने पाएको रोजगारी गुमाउन चाहिनन् । उनले पालिका वरिपरिको बाटो, पार्क र सडक सफा गर्ने काम सुरु गरिन् ।

 

नौ दिनका लागि उनले ज्यालादारीमा काम पाएकी थिइन् । दिनको रु सात सय पाउँदा पर्व खर्च जुट्ने भन्दै उनको मुहार उज्यालो थियो । मङ्गलबार शङ्खमूलस्थित बागमती किनारामा बाढीले ल्याएका फोहरका पोका बटुल्दै उनले भनिन्, ‘काम गर्न के को लाज ? जे जानेको छु, त्यही गर्छु ।’ श्रीमान्ले फोहर उठाउने काम गर्दिन भन्दै कामलाई गरेको अपमानप्रति दवाडी दुःखी  थिइन् । एक सातादेखि ज्यालामा श्रम गर्न पाएकोमा तिहार रमाइलो गरी मनाउन सक्नेमा उनीखुसी भइन् ।

 

सरसफाइ गरेर तिहार खर्च जुटाउने समूहमा थिइन्, धादिङकी चाँदनी पुन । उनको परिवारमा परिश्रम गर्न सक्ने छोराछोरी र श्रीमान् भए पनि उनीहरु मजदुरी गर्न लाज नमानेपछि पुनले आफैँ काममा जाने निर्णय गरिन् । उच्चशिक्षा उत्र्तिण गरेको छोरो बेरोजगार भएर घरमा बस्दा ५५ वर्षिया पुन भने सरसफाइ गर्ने रोजगारी पाएकोमा उत्साहित थिइन् । ‘छोराछोरी सानोतिनो मजदुरी गर्न मान्दैनन् बरु मोबाइल हेरेर बस्छन्’, पुनले भनिन्, ‘पेट पाल्नै पर्‍यो । काम पाउनु ठूलो कुरा हो ।’

 

उनीसँगै महानगरको श्रम बैंकबाट सरसफाइको काममा खटिएकी कोटेश्वरकी ज्ञानु मर्हजन (नाम परिवर्तन) ले महानगरको सडक सफा गर्ने रोजगार पाएको कुरा घरमा सुनाइन् । घरमा छोराछोरीले र श्रीमान्ले सडकमा काम गर्न अनुमति नदिए पनि उनले भने आर्जनको बाटो गुमाउन चाहेनन् । परिवारलाई थाहै नदिइ लुकेर सडकमा सफाइ गर्न आएको महर्जनले बताइन् । बेरोजगार बस्नु भन्दा पाएको काम गर्नुपर्छ भन्ने उनको बुझाइ छ । ‘परिवारले भने सडकमा रोजगार गर्दा लाज हुने मान्यता राख्छन्’, महर्जनले भनिन्, ‘मुख छोपेर कसैले न देख्ने गरी काम गर्छु । छोरोछारीले थाहा पाए भने गाली गर्छन् ।’

 

कामपाले बाढीका कारण फोहर बनेको सहर, बाटो, बगैँचालगायत स्थान सफा गर्न कामदार खटाएको छ । महानगरले श्रम बैंक खोलेर बेरोजगारलाई रोजगार दिने कार्य सञ्चालन गरेको हो । गत साउन, भदौ, असोज र कात्तिकमा श्रम बैंकबाट रोजगार लिने छ सय ४७ जना रहेका महानगरको श्रम बैंक शाखा प्रमुख पवनकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार तीमध्ये ४६ जना अपाङ्गता भएका कामदार छन् ।

 

शाखा प्रमुख ठाकुरले रोजगार लिनेमा महानगरको सरसफाइ व्यवस्थापनदेखि सिभिल इञ्जिनियर पदसम्म रहेका बताए । अधिकांश काम सडक, सहर र बाटोघाटो सरसफाइमा जनशक्ति सक्रिय रहेका उनले उल्लेख गरे ।

 

तथ्याङ्क छुट्याएर नराखिए पनि महानगरको सरसफाइ व्यवस्थापनमा महिला जनशक्ति बढी रहेको ठाकुरले बताइन् । ‘पुरुष महिला सङ्ख्या छुट्याएका छैनौँ तर, सरसफाइको काममा महिला कर्मचारी बढी हुनुहुन्छ’, उनले भने, ‘महानगरको सफाइमा उहाँहरुको योगदान बढी छ ।’

 

काठमाडौं महानगरपालिकाको महिला समूह परिचालन गर्ने भवानी कपालीका अनुसार सरसफाइमा महिला कामदार सजिलै पाउने गरिएको छ । महिला समूहमा पुग्दा उनीहरुले महानगरको रोजगारबारे जानकारी दिँदा महिला बढी प्रोत्साहन हुने भएकाले सहभागिता पनि बढी देखिएको उनले बताए ।

 

‘कतिपय श्रीमान् घरमा समय खेर फाल्न रुचाउँछन्, सरसफाइ जस्ता काममा आउन नचाहेएको बुझेकी छु’, कपालीले भनिन्, ‘त्यो भनेको पितृ सत्तात्मक धारणाको असर हो भन्ने मेरो बुझाइ छ ।’

 

समूहमा स्थलगत अवलोकनमा जाँदा आफूले महानगरमा रोजगारका लागि निवेदन दिनु भनेर सिकाउने गरेको महिला समूह परिचालिका कपालीले बताइन् । धेरै महिलाले सरसफाइका काम गर्न अघि सरे पनि पुरुष कम मात्रामा रुचि देखाउने गरेका उनको अनुभव छ ।

Leave A Reply

Your email address will not be published.