पोखरा,
अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिले प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रम आयोजना गरी युवा दिवस मनाउने भएको छ।
“Different Contexts, Common Aspirations – विभिन्न सन्दर्भहरू, साझा आकाङ्क्षा” भन्ने अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारासहित गण्डकी प्रदेश समितिको आयोजनामा श्रावण २७ गते, बुधवार पोखरामा ‘युवा संवाद कार्यक्रम’ आयोजना हुँदैछ।
ग्यालेक्सी बैंक्वेट, विरौटा, पोखरामा बिहान ११:४५ बजे हुने कार्यक्रममा युवाका समसामयिक सवाल, अवसर, चुनौती, नेतृत्व विकास, रोजगारी, उद्यमशीलता, नीति निर्माणमा युवाको सहभागिता तथा समृद्धिमा युवाको भूमिकालगायत विषयमा संवाद र विचार आदानप्रदान गरिनेछ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय मनिष खनाल बहसकर्ताका रूपमा सहभागी हुनेछन्। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी र सञ्चारकर्मी महेश भण्डारी सहभागी हुने कार्यक्रमलाई युवाका सवालमा केन्द्रित अर्थपूर्ण संवादका रूपमा अघि बढाइने आयोजकले जनाएको छ।
रास्वपाका अनुसार अन्तर्राष्ट्रिय युवा दिवसलाई पोखरामा मात्र सीमित नगरी गण्डकी प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा समेत विभिन्न रचनात्मक तथा सामाजिक कार्यक्रम आयोजना गरी मनाइँदैछ। जिल्लास्तरमा रक्तदान, युवा सचेतना कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, कविता वाचन तथा खेलकुदलगायतका कार्यक्रम सञ्चालन गरिने भएका छन्।
युवा दिवसका अवसरमा आयोजना गरिने यी कार्यक्रममार्फत युवालाई सामाजिक उत्तरदायित्व, सिर्जनशीलता, नेतृत्व र सार्वजनिक सहभागितासँग जोड्दै युवाका आवाज, आवश्यकता र साझा आकाङ्क्षालाई सार्वजनिक बहसको केन्द्रमा ल्याउने उद्देश्य रहेको रास्वपा गण्डकी प्रदेश समितिले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समिति तथा कास्की जिल्ला समितिको आयोजनामा हुने ‘युवा संवाद’ले युवापुस्ता, राजनीतिक नेतृत्व, उद्यमी तथा सञ्चार क्षेत्रबीच प्रत्यक्ष संवाद र अनुभव आदानप्रदानको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।