काठमाडौँ :
९७ औँ ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स् इन द फग’ले भोटेकोशी बाढीपीडितको सहयोगार्थ विश्वभर च्यारिटी स्क्रिनिङ गर्ने भएको छ। कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी प्राइज विजेता यस चलचित्रले आफ्नो अन्तर्राष्ट्रिय यात्राका क्रममा नेपालप्रति ऐक्यबद्धता जनाउँदै फ्रान्समा विशेष च्यारिटी प्रदर्शन गर्न लागेको हो।
अविनाशविक्रम शाहद्वारा निर्देशित यस चलचित्रको फ्रान्समा सेप्टेम्बर २३ देखि नियमित प्रदर्शन हुँदैछ। त्यसअघि सेप्टेम्बर १७ मा पेरिसस्थित ‘यूजीसी लेस हाल्स’मा विशेष प्रिभ्यु स्क्रिनिङ आयोजना गर्न लागिएको छ। ‘नेपालसँगको ऐक्यबद्धता’ अभियानअन्तर्गत आयोजना हुने उक्त प्रदर्शनमा निर्देशक अविनाश स्वयम् उपस्थित रहनेछन्।
यस विशेष प्रदर्शनबाट फ्रान्सेली वितरकलाई प्राप्त हुने सम्पूर्ण आम्दानी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावितहरूका लागि नेपाल सरकारले स्थापना गरेको राहत कोषमा जम्मा गरिनेछ। उक्त प्रदर्शनमा फ्रान्सका लागि नेपाली राजदूतको समेत उपस्थिति रहनेछ।

“हामी जहाँबाट सक्छौँ, त्यहीँबाट एकजुट भएर सहयोग गर्ने अभियानमा छौँ,” निर्देशक अविनाशविक्रम शाहले भने, “पेरिसमा सिनेमा स्क्रिनिङ गरेर हामी भोटेकोशीका बाढी प्रभावितहरूलाई सहयोग गर्दैछौँ।”
यसअघि पनि चलचित्रको टोलीले भदौ १७ गते काठमाडौँमा विशेष स्क्रिनिङ आयोजना गरी संकलित रकम ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा हस्तान्तरण गरेको थियो। नेपालमा चलचित्र प्रदर्शन भइरहेकै समयमा टोलीले विदेशमा समेत सिनेमा प्रदर्शनमार्फत नेपालका बाढीपीडितका लागि सहयोग जुटाउने प्रयास निरन्तर जारी राखेको छ। चलचित्रका सह-निर्माता प्रचण्डमान श्रेष्ठ र मुख्य अभिनेत्री पुष्पा थिङ नुवाकोटका बासिन्दा हुन्। बाढीका कारण श्रेष्ठको घरमा समेत क्षति पुगेको थियो।
जंगली हात्तीको आतङ्कबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा बोलेको यस चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायतको मुख्य अभिनय रहेको छ।
यो चलचित्र नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाहरूको सहकार्यमा बनेको हो। चलचित्रको मुख्य निर्मातामा अनुप पौडेल (नेपाल), जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी (फ्रान्स) तथा माइकल हेनरिक्स (जर्मनी) रहेका छन्। त्यस्तै सह-निर्मातामा प्रचण्डमान श्रेष्ठ, तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन्।
चार्लस अडिनेट लाइन प्रोड्युसर रहेको यस चलचित्रका एसोसिएट निर्माता अभिनेत्री केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी हुन्। ‘अन्डरग्राउन्ड टकिज नेपाल’को तर्फबाट सह-निर्मातामा प्रवेश गुरुङ तथा एसोसिएट निर्मातामा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स रहेका छन्।