सुचना, समाचार र मनोरन्जन

भारतमा हुने ‘मिस युनाइटेड नेसन्स’ का लागि नेपालबाट स्नेहा राउत चयन

काठमाडौँ  :

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनाइटेड नेसन्स २०२६’ मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने भएकी छन्। ग्रीन आर्ट्स मिडिया प्रा.लि.ले राजधानीमा बुधबार एक कार्यक्रम आयोजना गरी स्नेहालाई ‘मिस युनाइटेड नेसन्स नेपाल २०२६’ को ताज पहिराउँदै प्रतियोगिताको आधिकारिक प्रतिनिधि चयन गरेको हो।

आगामी अक्टोबर ५ देखि भारतको नयाँ दिल्लीमा आयोजना हुने उक्त प्रतियोगितामा उनी नेपालको तर्फबाट एकमात्र प्रतिस्पर्धी हुनेछिन्। ललितपुरकी २४ वर्षीया राउतले थाइल्यान्डबाट ‘ब्याचलर इन बिजनेस स्टडिज’ (BBS) पूरा गरेकी छन्।

Protin

बत्तीसपुतलीस्थित ‘द स्ट्र्यान्ड लाउन्ज एन्ड बार’मा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, चर्चित फोटोग्राफर महेश प्रधान, फेसन कोरियोग्राफर तथा पेजेन्ट निर्देशक अनिला श्रेष्ठ र ग्रीन आर्ट्स मिडियाका सीईओ प्रवीणप्रसाद लाकौललगायतले राउतलाई ताज पहिराउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गरिमा उच्च राख्न शुभकामना व्यक्त गरे।

कार्यक्रममा पेजेन्ट निर्देशक अनिला श्रेष्ठले भारतमा हुने ‘मिस युनाइटेड नेसन्स २०२६’ मार्फत स्नेहालाई अन्तर्राष्ट्रिय स्तरमा नेपाल चिनाउने अवसर प्राप्त भएको बताइन्। उनले प्रतियोगिताका लागि स्नेहाको व्यक्तित्व विकास, प्रशिक्षण तथा प्रस्तुति तयारीमा आफ्नो महत्त्वपूर्ण भूमिका रहने जानकारी दिइन्।

फेसन, मनोरञ्जन, फोटोग्राफी, कला तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा ‘मिस युनाइटेड नेसन्स नेपाल’ले नेपाली युवतीहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको बताइएको थियो। यसै क्रममा प्रतिनिधि स्नेहा राउतले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कला, संस्कृति, सौन्दर्य र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाइन्।

Leave A Reply

Your email address will not be published.