काठमाडौँ :
चलचित्र ‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा सन्तानको भविष्यका लागि समर्पित बुवा र उहाँको योगदानको अवमूल्यन गर्ने छोराहरू बीचको पारिवारिक कथालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
ट्रेलर अनुसार छोराको सपना पूरा गर्न आफ्नो घरसमेत धितोमा राख्न तयार हुने बुवा र तिनै बुवाको त्याग बिर्सिने छोराको व्यवहारलाई मुख्य विषय बनाइएको छ । बाबुले छोरीहरूलाई थोरै सम्पत्ति दिन खोज्दा समेत विरोध गर्ने महत्त्वाकांक्षी तथा अव्यवाहारिक छोराहरूका कारण मध्यमवर्गीय परिवारले भोग्नुपर्ने आर्थिक तथा मानसिक तनावलाई चलचित्रले देखाउन खोजेको छ । साथै, आफ्नै छोराहरू भन्दा छोरी र छिमेकीले अभिभावकको पीडा बुझ्ने प्रसङ्गलाई समेत ट्रेलरमा प्रस्तुत गरिएको छ ।
आगामी असोज ९ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको यस चलचित्रले नेपाली समाजमा सन्तानका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्नुपर्ने चुनौतीहरूलाई कथाको मुख्य आधार बनाएको छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई संगीतकार हरि लम्सालले लेखन तथा निर्देशन गर्नुभएको हो । नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीतहरू दिइसक्नुभएका लम्सालको फिचर सिनेमामा यो पहिलो निर्देशकीय यात्रा हो । चलचित्रको कथा तथा पटकथा समेत लम्साल स्वयम्ले तयार पार्नुभएको हो ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
वसन्त लम्साल निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता अनिल बुढाथोकी, सह-निर्माता कृष्ण काफ्ले र लाइन प्रोड्युसर अर्जुन पौडेल हुनुहुन्छ । शिवराम श्रेष्ठको छायाङ्कन तथा तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहेको यस चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको ‘कुवेर सिने डिस्ट्रिब्युसन’ले वितरण गर्दैछ ।