मुम्बई :
बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई मुम्बई प्रहरीको आर्थिक अपराध अनुसन्धान शाखाले आज ४ घण्टा ३० मिनेट सोचपुछ गरेको छ। उनलाई भारु ६० करोड ठगी प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको हो।
अनुसन्धान अधिकारीहरूका अनुसार सोधपुछ लगानी कम्पनीमार्फत गरिएको ठगी सम्बन्धी उजुरीका विषयमा केन्द्रित रहेको थियो। सो प्रकरणमा शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा पनि अनुसन्धानको दायरामा छन् र उनलाई पनि निकट भविष्यमा पुनः सोधपुछ गर्न सकिने जनाइएको छ।
पीडितहरूले दर्ता गरेको उजुरीमा कम्पनीले उच्च नाफाको आश्वासन दिई लगानीकर्ताबाट करोडौँ रुपैयाँ संकलन गरी रकम फिर्ता नगरेको आरोप लगाइएको छ।
शिल्पा शेट्टीले सोधपुछका क्रममा आफू कम्पनीको दैनन्दिन कारोबारमा प्रत्यक्ष संलग्न नभएको दाबी गरेकी छन्। तर, प्रहरीका अनुसार कम्पनीका केही कागजातमा उनको नाम र हस्ताक्षर भेटिएको कारण अनुसन्धान अझै अगाडि बढाइने भएको छ।
यसअघि पनि राज कुन्द्रा विभिन्न आर्थिक र अनलाइन सामग्रीसम्बन्धी विवादमा परेका थिए। अहिले यो नयाँ प्रकरणले शेट्टी परिवारलाई पुनः सार्वजनिक ध्यानको केन्द्रमा ल्याएको छ।