सुर्खेत :
वैशाख २५ देखि देशभर प्रदर्शनमा आएको सामाजिक विषयवस्तुमा आधारित चलचित्र ‘लालीबजार’ को टोली मोफसलका दर्शकहरूसँग साक्षात्कार गर्न सुर्खेत र नेपालगञ्ज पुग्ने भएको छ। अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा र कार्यकारी निर्माता प्रदीप भट्टराईसहितको टोलीले सुर्खेतबाट आफ्नो मोफसल यात्राको औपचारिक सुरुआत गर्न लागेको हो। काठमाडौँ उपत्यकाका विभिन्न सिनेमा घरहरूमा दर्शकको उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण पक्षले उपत्यका बाहिरका दर्शकको प्रत्यक्ष राय बुझ्न यो यात्रा तय गरेको हो।
एकल आमाले छोरीको भविष्यका लागि गर्ने सङ्घर्ष र बादी समुदायको मुद्दालाई उठान गरेको यस चलचित्रले हाल हलहरूमा पारिवारिक दर्शकहरूको उल्लेख्य साथ पाइरहेको छ। बादी समुदायका अभियन्ताहरूले समेत चलचित्रको सामाजिक सान्दर्भिकतालाई लिएर प्रशंसा गरिरहेका छन्। कार्यकारी निर्माता प्रदीप भट्टराईका अनुसार सुर्खेत र नेपालगञ्जपछि यो टोली मोफसलका अन्य प्रमुख सहरहरूमा पनि पुग्ने योजना छ, जहाँ उनीहरूले हलमै पुगेर दर्शकहरूलाई सरप्राइज दिँदै प्रत्यक्ष अन्तरक्रिया गर्नेछन्। चलचित्र हेरेपछि धेरै दर्शकहरूले आमाको महत्त्व र छोरीप्रतिको दायित्वबोध गराएको भन्दै भावुक प्रतिक्रिया दिइरहेका छन्।
चलचित्रमार्फत डेब्यु गरेका अभिनेता विशाल देवकोटा र प्रशंसा सुवेदीको अभिनयलाई पनि दर्शकले निकै रुचाएका छन्। विशेषगरी विशालले निर्वाह गरेको ‘नारायण’ पात्र र प्रशंसाले निभाएको छोरीको भूमिकाको सर्वत्र चर्चा भइरहेको छ। निर्देशक यम थापाले ‘लालीबजार’ स–परिवार बसेर हेर्न मिल्ने सन्देशमूलक चलचित्र बनेको दाबी गर्दै चलचित्र हेरेपछि मात्र यसको गहिराइ बुझ्न सकिने बताउनुभयो। म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेको यस चलचित्रमा स्वस्तिमा खड्का, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ।