काठमाडौँ :
अभिनेता जितु नेपालद्वारा निर्मित तथा अभिनित प्रतिक्षित चलचित्र ‘आइ एम जीत बहादुर’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। बलिउडका प्रसिद्ध गायक कैलाश खेरको स्वर रहेको यस गीतले नेपाली दर्शक र श्रोताको मन जित्नेमा निर्माण पक्ष उच्च आशावादी देखिएको छ। सार्वजनिक गीतमा राज सिंह सिधु र जितु नेपालको शब्द रचना रहेको छ भने संगीत बव एसएनले तयार पारेका हुन्।
भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशनमा तयार भएको यस चलचित्रले गाउँबाट सहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको जीवनकथालाई पर्दामा उतारेको छ। चलचित्रमा जितु नेपाल र वर्षा राउत मुख्य जोडीका रूपमा देखिएका छन् भने प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’, र बाल कलाकार साहरा शर्मा लगायतको अभिनय रहेको छ। कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस चलचित्रको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको छ, जसले चलचित्रको प्राविधिक पक्षलाई अझ गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।
चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले सह-निर्माताका रूपमा सहकार्य गरेका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको यस चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ। तीन दशकभन्दा लामो कलाकारिता यात्रामा दर्जनौँ सफल चलचित्र र टेलिचलचित्रमा अभिनय गरिसकेका जितु नेपालको यो नयाँ प्रस्तुतिले नेपाली सिने जगतमा विशेष अर्थ राख्ने देखिएको छ। केही समयअघि सार्वजनिक टिजरले युट्युबमा पाएको उत्साहजनक प्रतिक्रियाले पनि चलचित्रप्रतिको कौतुहलतालाई अझ बढाएको छ।