पोखरा,
मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि झण्डै साढे ४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरको बुधबार आयोजित २० औँ नगरसभामा शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार र प्रविधिलाई मुख्य प्राथमिकतामा राख्दै कूल ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको हो।
महानगरका कार्यवाहक प्रमुख (मेयर) इम्तियाज आलमका तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षको अनुमानित आय–व्ययसहितको यो बजेट नगरसभासमक्ष पेश गर्नुभएको हो। यो बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै १ अर्ब १९ करोड रुपैयाँले बढी हो। चालु आर्थिक वर्षका लागि वीरगञ्ज महानगरपालिकाले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो।
खर्चको विवरण र प्राथमिकता सार्वजनिक बजेटको खर्चतर्फ चालू खर्चका लागि २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ अर्थात् कूल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ। यसैगरी पुँजीगत (विकास) खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् कूल बजेटको ४४.६ प्रतिशत छुट्ट्याइएको छ भने वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ अर्थात् १.१ प्रतिशत रकम उल्लेख छ।
बजेटको आम्दानी र वित्तीय स्रोत महानगरले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतहरू पनि स्पष्ट पारेको छ। जसअनुसार संघीय अन्तर-सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ र आन्तरिक राजस्व संकलनबाट १ अर्ब ४८ करोड रुपैयाँ संकलन गरिने लक्ष्य राखिएको छ।
यसैगरी संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ, प्रदेश अन्तर-सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार रुपैयाँ र प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ। बाँकी स्रोतका रूपमा घरजग्गा रजिष्ट्रेशन शुल्कबापत ४५ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यहोरिने महानगरपालिकाले जनाएको छ।