पर्वत,
महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ को बजेटमार्फत वाइचोक–दुक्तान सडक स्तरोन्नतिका लागि १ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ।
गाउँपालिकाको २०औँ गाउँसभामा उपाध्यक्ष धनसुवा विकले प्रस्तुत गरेको बजेट वक्तव्यमा उक्त सडक खण्डको बाँकी काम आगामी आर्थिक वर्षको माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित बजेट व्यवस्था गरिएको उल्लेख गरिएको छ।
महाशिला गाउँपालिकालाई जिल्ला सदरमुकाम कुश्मासँग जोड्ने प्रमुख सडकका रूपमा रहेको वाइचोक–दुक्तान सडक लामो समयदेखि जीर्ण अवस्थामा रहेकाले स्थानीयवासीले दैनिक आवतजावतमा सास्ती भोग्दै आएका छन्। सडकको अवस्था कमजोर हुँदा वर्षायाममा यात्रा अझ जोखिमपूर्ण बन्ने गरेको छ भने स्थानीयको सेवा प्रवाह, कृषि उपज ढुवानी तथा शैक्षिक गतिविधिसमेत प्रभावित हुँदै आएको थियो।
गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेको सडक स्तरोन्नतिको बाँकी कार्यलाई आगामी वर्ष प्राथमिकताका साथ अघि बढाउने जनाएको छ। सडकको स्तरोन्नति सम्पन्न भएपछि महाशिलाकाका विभिन्न वडाका नागरिकलाई सहज र सुरक्षित यातायात सुविधा उपलब्ध हुनेछ।
सडक निर्माण सम्पन्न भएपछि गाउँपालिकाको सदरमुकामसँगको पहुँच सुधार हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ।