सुचना, समाचार र मनोरन्जन

विराज भट्टको घोषणा : अर्को दशैंमा ‘१२ गाउँ २’ प्रदर्शनमा आउने

काठमाडौं :

अभिनेता तथा निर्देशक विराज भट्टले आगामी वर्षको दशैंमा आफ्नै निर्देशनमा बन्ने फिल्म ‘१२ गाउँ २’ प्रदर्शनमा ल्याउने घोषणा गरेका छन्। गत वर्ष दशैंमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ ले राम्रो सफलता पाएपछि उनले यसको सिक्वेल तयारीमा रहेको जानकारी दिएका हुन्।

बिहीबार काठमाडौंमा आयोजित आफ्नो मुख्य भूमिका रहने नयाँ फिल्म ‘राम नाम सत्य’ को शुभमुहूर्त कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले भने, “अहिले ‘१२ गाउँ २’ को स्क्रिप्टमा काम भइरहेको छ। फिल्म अर्को दशैंमा प्रदर्शन हुनेछ।”

उनका अनुसार सिक्वेलमा पनि बाउ-छोरा अर्थात् विराज र उनका छोरा समीर भट्टको सहअभिनय रहनेछ। ‘१२ गाउँ’ मा पनि समीरको प्रमुख भूमिका थियो। ‘१२ गाउँ २’ को निर्देशन पनि विराज आफैंले गर्नेछन्।

विराजले यस वर्षकै दशैं (असोज) मा ‘१२ गाउँ २’ ल्याउने तयारी गरेका थिए र गत पुषमै चलचित्र विकास बोर्डबाट निर्माण अनुमति समेत लिएका थिए। तर, समीर भट्ट अभिनीत फिल्म ‘बलिदान’ को छायांकन लम्बिँदा ‘१२ गाउँ २’ को काम रोकिएको हो। त्यसैले यस वर्ष उनले बाहिरी ब्यानरको फिल्म ‘राम नाम सत्य’ मा अभिनय गर्ने निर्णय लिएका छन्।

हाल ‘१२ गाउँ २’ बाट आफ्नो कान्छो छोराले फिल्ममा डेब्यु गर्ने चर्चा चलिरहेको भए पनि विराजले उक्त कुरा अस्वीकार गरेका छन्। “अहिलेसम्म उसलाई ल्याउने कुनै सोच छैन। ऊ अझै सानो छ,” भट्टले प्रस्ट पारे, “उसलाई फिल्मप्रति चासो चाहिँ छ, तर समय आएपछि मात्र त्यो विषयमा निर्णय गरिनेछ।”

Leave A Reply

Your email address will not be published.