काठमाडौं :
नेपाल भाषाको गीतसंगीत र सिनेमाका नायिका, कोरियोग्राफर, मोडल र निर्देशकका रुपमा चर्चामा रहेकी प्रतिभा आराध्यलक्ष्मी खड्गी अब गायिकाको रुपमा स्रोतामाझ आउने भएकी छन् । उनले ‘मतिनाया देशय्’( मायाको देशमा) बोलको नेपालभाषाको गीतको म्युजिक भिडियो विहिबार सार्वजनिक गरेकी छन्। रासु अर्थात राम खडगी र सुर्जलक्ष्मी खडगी प्रस्तुतकर्ताका रुपमा रहेको भिडियोमा खड्गीलाई विजयमान सिंहले अभिनयमा साथ दिएका छन् ।
मोडल सिंह अमेरिकामा बस्दै आएका नेपाली हुन् । विशेषगरी सांस्कृतिक सेवा तथा समाजसेवामा संलग्न सिंह नेवाः गुथि न्यूयोर्कका अध्यक्ष हुन् । वीरेनकुमार शाक्यद्वारा संगीतबद्ध यो गीतको भिडियो को निर्देशक र गीतकार राजेशमान सिंह हुन् भने छायांकन र सम्पादन सोहन मानन्धरले गरेका हुन् । गायनमा पनि विशेष रुचि राख्ने विजयमान सिंहले पनि ‘भन तिमिलाई’ बोलको नेपाली गीतको भिडियो पनि सोही कार्यक्रममा प्रिमियर गरिएको छ ।
मतिना इन्टरटेंटमेंट ले निर्माण गरेको यो भिडियो का निर्देेशक दिपक श्रेष्ठ हुन् भने गीतकार तथा सगीतकार पनि विजयमान सिंह स्वयं हुन् । यो गीतको भिडियोमा सिंह को साथमा पुराना अभिनेत्री नन्दिता के सिले खेलेकी छन् । कलाकर्मी खडगी र सिंहका दुई बेग्ला बेग्लै तीतको एक प्रिमियर गरिएको कार्यक्रम विजयमान सिंहको सभापतित्व र ख्यातिप्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठ प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सुर्जलक्ष्मी खडगीले स्वागत मन्तव्य राखेका थिए । वरिष्ठ गायक जुजुकाजि रन्जित, अग्रज अभिनेत्री नारायण देवी प्रधान, संगीत साहित्य तथा चलचित्रका अन्वेषक प्रकाश सायमि र नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर विशेष अतिथीका रुपमा रहेका थिए । कार्यक्रममा सार्वजनिक गरिएका दुबै गीतका कलाकार , प्राविधिकहरुका साथै सहयोगिहरुलाइ सम्मान स्वरुप मायाको चिनो पनि प्रदान गरिएको थियो ।