सुचना, समाचार र मनोरन्जन
Sarangi

भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा अवतरण

एजेन्सी/

भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएको हो ।

योसँगै भारत चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ। यसअघि भारतको चन्द्रयान–३ भन्दा केही दिनअघि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको रुसको यान लुना–२५ दुर्घटनामा परेपछि भारत पहिलो भएको हो । अमेरिका, रुस र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक यान अवतरण गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका छैनन् ।

चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो । जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् ।

गएको जुलाई १४ तारिखमा भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा हरिकोटाबाट उडान भरेको चन्द्रयान–३, ४० दिनको लामो यात्रा पूरा गरेर चन्द्रमासम्म पुगेको हो ।

चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो । सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र मिसन चन्द्रयान–१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो ।

Leave A Reply

Your email address will not be published.