सुचना, समाचार र मनोरन्जन

४० वर्षपछि ‘नरोउ माया सम्झेर मलाई’ गीतलाई राधाकृष्ण भर्सनमा रिलिज

काठमाडौँ :

वि.सं. २०४० सालमा रिलिज भई बहुचर्चित बनेको लोक गीत ‘नरोउ माया सम्झेर मलाई’ कृष्ण भजन गीतको रुपमा भिडियोसहित ‘नरोउ राधा सम्झेर मलाई’ श्रीर्षकमा रिलिज भएको छ । गायक हरिबहादुर राउतले श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा इन्टरनेटमार्फत यो गीत सार्वजनिक गरेका हुन्।

ओरिजिनल गीतका गायक हरिबहादुर राउतले नै भजन भर्सनमा स्वर दिएका छन् । पुरानो गीतमा युगल स्वर थिएन भने नयाँ गीतमा राउत र गायिका कोपिला तामाङ वाईवाले गाएका छन् । यस गीतका शब्द संकलक तथा संगीतकार माधव केसी हुन् भने नयाँ गीतमा प्रकाश सापकोटा र बिदुर तिमल्सिनाले शब्द रचना गरेका छन् ।

भिडियोमा अभिषेक श्रेष्ठ र संगम बिष्टले अभिनय गरेका छन् । श्रेष्ठ कृष्ण बनेका छन् भने बिष्ट राधा बनेकी छन् । संगम वि.सं. २०७१ सालमा सौगात बिष्टले सबैभन्दा कान्छो निर्देशकको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ राख्न सफल चलचित्र ‘लभ यू बाबा’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड प्राप्त गरेकी थिईन् ।

उनले सो चलचित्रमा बालकलाकारको रूपमा काम गरेकी थिईन् । उनले बालकलाकारको रुपमा अपहरण, जय शिव शंकर, श्रीमान, वरदान लगायतका चलचित्रहरूमा काम गरेकी छन् । संगमले ‘नरोउ राधा सम्झेर मलाई’बाट नै कमर्सियल अभिनयमा प्रवेश गरेकी हुन् । हरिबहादुर राउत र गोल्डेल हार्ट पिक्चर्सको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् । छायाँकार दिनेश पराजुलीको रहेको छ भने प्रविन भट्टले सम्पादन गरेका छन् ।

आफ्नो पुरानोलोकगीतलाई भजन भर्सनमा ल्याएर भक्ति भावमा दर्शकश्रोताबीचमा गीतको फरक स्वाद दिने प्रयास गरेको गायक राउतले बताए । ‘पुराना पुस्ताले अत्याधिक रुचाउनुभएको लयलाई नयाँ र आध्यात्मिक शब्दमा पुनःस्वरांकन गर्दा श्रोताले गीत संगीतको नयाँ अनुभुति लिनुहुनेछ भन्ने विश्वास लिएको छु’, राउतले भने ।

गीतकार प्रकाश सापकोटाले यो भजन पनि माया प्रेममा नै आधारित रहेको बताए । उनले भने, ‘हामीले सदिऔँदेखि कृष्ण र राधाको प्रेमचर्चा सुन्दै आएका छौँ । त्यही प्रसंगलाई चर्चित गीतको लयमार्फत आम मानिसमा पुरÞ्याउने उद्देश्यले बिदुरजी र मैले मिलेर रचना गरेका हौँ ।’ सापकोटाले यो भजन भर्सन सबैले सुन्दा आनन्द आउने बताए ।

Leave A Reply

Your email address will not be published.