सुचना, समाचार र मनोरन्जन

बालेन शाह टाइम म्यागजिनको १०० उदीयमान व्यक्तिको सूचीमा

काठमाडौँ/

प्रतिष्ठित टाइम म्यागजिनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई यसवर्षका सय उदीयमान व्यक्तिको सूचीमा छनोट गरेको छ । म्यागजिनले तयार पारेको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश छ ।

सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गर्दै म्यागजिनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षण जस्ता प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

Pach Pandav

प्रतिबद्धता पुरा गर्नेक्रममा सहरका गरिबमाथि असर परेको र उनीहरुको घर भत्काउने कदम गैरकानूनी देखिएको भन्दै बालेनले आलोचना खेप्नुपरेको समेत म्यागजिनले उल्लेख गरेको छ । ‘शक्तिमा पुगेदेखि शाहले ल्यान्डफिल साइट प्रयोग गर्न अधिकारीसँग सम्झौतामा हस्ताक्षर गरेका छन् । साथै, कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने घोषणा पनि गरेका छन्’ टाइम म्यागजिनका लागि आस्था राजवंशीले लेखेकी छन्।

‘स्ट्रक्चरल’ इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय बालेनले स्वतन्त्र रूपमा चुनाव लडेको उल्लेख गर्दै म्यागजिनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोग गरेर मतदातामाझ बालेन इफेक्टको प्रयोग गरेको जनाइएको छ । ‘गत वसन्तको स्थानीय चुनावमा यी स्वतन्त्र उम्मेदवारले दिग्गज राजनीतिज्ञमाथि विजय हासिल गरे’ म्यागजिनले लेखेको छ ।

टाइम म्यागजिनले कलाकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता, वकालतजस्ता विधामा समेत प्रभावशाली व्यक्ति छनोट गरेको छ । आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागजिनले टाइम १०० व्यक्तिको सूची तयार पारेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.