काठमाडौँ/
काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ ।
टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिङ्ग स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तर्राष्ट्रिय मामिलाका उपमहानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई छन ।
चीनको नान्जिङ्गका साथै छेन्दु र झान्झाउ नगरपालिका तथा सियान सिटीबाट पनि पाहुनाहरु नेपाल आउने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरु आउने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुबाट पाहुना बोलाउन थालेको हो । ती पाहुनालाई ईन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको छ ।
असोज ९ गते बुधबार बिहान १० बजेर ३७ मिनेट जाँदा इन्द्रध्वजसहितको लिङ्गो बसन्तपुरस्थित हनुमानढोका अगाडि ठड्याइएको छ । असोज १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराइने छ । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम छ ।
इन्द्रजात्राको मुख्यदिन असोज ११ गते काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक विदा दिएको छ । जात्रामा राष्ट्रप्रमुखबाट जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्ने परम्परा छ । इन्द्र जात्राको प्रचलन जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिन्छ ।