सुचना, समाचार र मनोरन्जन

प्रकाशको ‘पारिजात’ मा खुसीसँग गौरवको अव्यक्त प्रेम

काठमाडौँ :

गायक तथा सङ्गीतकार प्रकाश सिलवालको नयाँ गीत ’पारिजात’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन् । प्रेमील भाव व्यक्त गर्ने गीतको भिडिओमा एकतर्फी प्रेमलाई देखाएइको छ। खुसी प्रति आकर्षित भएका गौरव उनको प्रेममा परेपछि आफूलाई परिवर्तन गर्छन्। पर्खाइमा रहेका गौरवले प्रेम प्राप्ति गर्छन् वा गर्दैनन् भन्ने विषयलाई पटकथा बनाएर भिडिओका निर्माता शान बस्यातले प्रस्तुत गरेका छन्।

सरल र मनछुने शैलीमा तयार गरिएको गीतको भिडिओलाई गायक प्रकाश सिलवालकै युत्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । अस्मिता रुचालको शब्दमा गायक प्रकाश सिलवालले कर्णप्रिय स्वर भरेका छन्। सङ्गीत पनि उनकै हो। उनले प्रेमले पार्ने प्रभाव र ल्याउने परिवर्तनलाई गीतमा प्रस्तुत गरिएको बताए। उनले भने, ‘यो गीत प्रेमिल र सरल छ। एउटा केटाले आफ्नो मन परेको मान्छेका लागि आफुमा ल्याउने बदलावसँगै अव्यक्त भावनालाई गीतमा प्रस्तुत गरेका छौँ । प्रेम गर्नेलाई यसले ‘कनेक्ट’ गर्छ भन्नेमा विश्वस्त छौँ ।’ उनले अडियो अनुसार नै भिडिओ पनि तयार भएको बताए।

गीतमा प्रेमीको रुपमा प्रस्तुत अभिनेता गौरव जीवन्त देखिएका छन्। सम्भावना बोकेको अभिनेताको रुपमा परिचित गौरवले गीतको भाव अनुसार आफूलाई प्रस्तुत गरेको बताए । ‘गीतमा रहेको शब्द, गायकी भावसँगै निर्माताले तयार गर्नुभएको कथामा सिर्जना गरिएको पात्रलाई जीवन्त बनाउने कोसिस गरेको छु। मेरो पात्र एकोहोरो माया गर्ने प्रेमीलाई समर्पित छ,जसले आफ्नो प्रेमका लागि आफूलाई परिवर्तन गर्न सक्छ, कुर्न सक्छ र आफूलाई मन पर्ने मान्छेकै खुसीमा आफ्नो मन बुझाउन सक्छ’,अभिनेता विष्टले भने ।

घामपानी पिक्चर्स प्रोडक्सनले तयार गरेको भिडिओका निर्माता कथाकार शान बस्न्यात हुन्। उनले नै भिडिओको कथा तथा पटकथा तयार गरेका हुन् । यसमा गौरव र खुसीसँगै सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा (चरी), युवक लामा (घाइते), कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने,सुजाता तिमल्सिना लगायतले अभिनय गरेका छन्। निर्देशक प्रणव केसीको निर्देशनमा तयार भएको भिडिओमा डीओपी संगम राई, स्टाइलिस्ट अञ्जली रिजाल, मेकअप ज्योति केसी, हेयर अलिजा सिजावाल, साउण्ड देव न्यौपानेको रहेको छ।

Leave A Reply

Your email address will not be published.