सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पोखरा आएर ओलीले भने,“गण्डकी प्रदेशका ११ जिल्ला, ०८४ मा लाल किल्ला”

सन्तोष बस्याल
पोखरा ।

पोखरा आएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेशका ११ जिल्ला २०८४ सालमा लाल किल्लाको रुपमा परिणत हुने गरी लाग्न निर्देशन दिएका छन् । नेकपा एमाले गण्डकी प्रदेशको विशेष समारोहलाई सम्बोधन गर्दै उनले पार्टी भित्र प्रतिस्पर्धात्मक भावनाले नभई एकता बद्ध भएर लाग्नुपर्ने बताए । पार्टीभित्र एकता, विरोधीसँग प्रतिस्पर्धा भन्ने अभिभारालाई आत्मसात् गर्दै अगाडि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

ओलीले २०८४ को आमनिर्वाचनमा नेकपा एमालेले एकलौटी जित्ने दाबी गरे । “२०८४ को निर्वाचनमा जनताको अत्याधिक मत पाएर एकलौटी रुपमा जित हासिल गर्छौं ।”, उनले भने । उनले आगामी आम निर्वाचनमा जीत हासिल गर्न अहिले देखि नै तयारी थाल्नुपर्ने उल्लेख गरेका छन् । हरेक वडामा ५१ प्रतिशत माथि मत ल्याउने गरी मतदाता संख्या पु¥याउनुपर्ने भनाई उनको छ ।

“प्रतिस्पर्धा विचारको बीचमा हुन्छ । एकता बिना केही प्राप्ती हुँदैन । एकता नै जीतको बलियो आधार हो । लोकतान्त्रिक अभ्यासमा जीतहार स्वभाविक भएकाले गण्डकीमा नेकपा एमालेको निर्वाचनमा हार बेहोर्नुभएका साथीहरु मन खिन्न बनाएर बस्नुभएन । जीत्ने पनि फुरुङ्ग हुनुभएन । सबै मिलेर नै अगाडि बढे सफल भइन्छ ।”, उनले भने ।

घमण्ड र अहंकारले मान्छे पतन हुनेभएकाले यसलाई त्याग्न पार्टी कार्यकर्तालाई उनको आग्रह छ । ओलीले एमालेलाई सक्न देशी विदेशी शक्तिहरु सल्बलाएकाले सतर्कता खाँचो परेको बताए । नेकपाको दुई तिहाईको सरकार ढलाएर अन्त जानेको हबिगत अहिले देखिएको भनाई ओलीको छ ।

IVF Big

उनले एमालेको नेतृत्वमा सरकार हुँदा देश बनेको दाबी गरे । एमालेको पालामा नै दिगो विकासका काम भएको भनाई उनको छ । अहिले आर्थिक रुपमा देश टाट पल्टदा समेत सरकार मुकदर्शक भएको उनले उल्लेख गरे । विमानस्थलमा कर नभई तस्करी हुनुले देशमा डकैती भइरहेको उनले बताए ।

ओलीले आफुले कमबोडियामा पैसा लुकाएर राखेको छ भन्ने विषय भ्रम बाहेक अरु केही बताए । प्रमाण देखाए त्यसमा एक हजार थपेर दिने चुनौति समेत उनले दिएका छन् ।

उनले एमालेको पालामा विदेश जानेहरुको संख्या १८ प्रतिशतले घटेको तर अहिले विदेश जानेहरुको एयरपोर्टमा चाङ लागेको विषय उठाए । राष्ट्रिय उत्पादनमा ७ प्रतिशतले वृद्धि एमाले नेतृत्वकै सरकारमा हुँदा अहिलेको सरकारले दुई प्रतिशत पनि बनाउन नसकेको भनाई उनको छ ।

एमालेकै सरकार हुँदा कोभिडका बेला स्वास्थ्य क्षेत्रमा भएका कामको प्रशंसा विश्व स्वास्थ्य संगठनले समेत गरेको उनले बताए । उनले विरोधीहरुले अहिले अस्वस्थ रुपमा मुकाबला गरिरहेको र त्यस्ता मुकाबलाबाट कदापी नडराउने बताए । राजनीतिमा इमानदारिता र सक्रियता भए जस्तो सुकै समस्याबाट पनि जुध्न सकिने उनले उल्लेख गरे ।

कार्यक्रममा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष नवराज शर्माले सपथग्रहण गराएका थिए भने नेकपा समाजवादीका प्रभावशाली नेता दलबहादुर गुरुङ सहित अन्य पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने ८५ जनालाई स्वागत गरिएको थियो । कार्यक्रममा पार्टीका उपाध्यक्ष राम बहादुर थापा “बादल”, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण बिष्ट लगायतका नेताहरु बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.