काठमाडौं :
नेपाली कलाकार आफुलाई मनमा लागेको कुरा दायाबाया नहेरी बोल्छन्। त्यहि भएर कहिलेकाँही आफ्नै बोलिले विवादित बन्छन्। बिहिबार यहि भयो। फिल्म ‘राजमहल’को निर्माण घोषणामा पत्रकारले राजदरबार हत्याकाण्डको बारेमा के थाहा छ,कसले हत्या गरेको हो भन्ने प्रश्न पत्रकारतर्फबाट गरियो।
यसको जवाफमा अलिक विवादित खाल्का कुरा अभिनेता रमेश उप्रेतीबाट आएको भन्दै उनको आलोचना सुरु भएको छ। पत्रकारको जवाफमा उनले दरबार हत्याकाण्डमा दीपेन्द्र शाहको हात रहेको ठोकुवा गरे। तर, यस्तो विषयमा अभिनेत्री आँचल शर्मा भने निकै सजक देखिइन्। उनले यस बारेमा केहि जानकारी भएता पनि सम्हालिए जवाफ फकाईन्।
‘राजदरबारमा घटना घट्दा म सानै थिएँ । मेरो बुबा पशुपति जानु भएको थियो । घरमा बुबा रोएको याद छ,’उनले निकै समालिएर प्रश्नको जवाफ फर्काउदै भनिन्,‘घरबाट मानिसहरू निस्किएको पनि थाहा छ । जसको घरमा जो–जो बित्नुभएको छ नी, त्यो उहाँहरूका लागि ठूलो कुरा हो । नराम्रो घटना घटेको हो नी ।’
पुर्वराज राजपरिवारका कुनै पनि सदस्यले यस घटनाका बारेमा नबोल्नुको कारण हुन सक्ने बताईन्। यस विषयलाई हल्का रुपमा आफुहरुले लिन नमिल्ने तर्क गरिन्।
‘उहाँहरू चुप लाग्नुको कारण पनि केही छ जस्तो मलाई लाग्छ,’उनले भनिन्,‘यसैले, यहाँ यस्तो गम्भीर विषयमा हलुका रुपमा छलफल गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।’
अभिनेत्री शर्माले यो फिल्ममा मुख्य भुमिकामा अभिनय गर्दैछिन्। सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्ममा आँचल शर्माका अलवा रमेश उप्रेती,सलोन बस्नेत ,अर्जुन श्रेष्ठ,मिथिला शर्मा,सरोज खनाल,मोडल तथा टिकटकर सिम्रन पन्त,मिस पवि लगायतले अभिनय गर्दैछन्। सिम्रन र पवि यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन । करिब चार करोड बजेटमा बन्ने भनिएको फिल्मको माघ पहिलो साता देखि अष्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्ड सम्म पुगेर केही सिन खिचिने छ भने बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
पुरुषोत्तम प्रधानले खिच्ने यो फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरिको संगीत रहनेछ। यो फिल्ममा निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेका छन् भने मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय निर्माता रहने भनिएको छ। जसमा अनिल पाण्डे र प्रिन्स युवराज कार्की जोडिएका छन । उनीहरु अमेरिकाका लगानीकर्ता हुन्।
त्यसैगरी सह–निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलिया तर्फबाट सहकार्य गर्दैछन्। यो फिल्मको सुरावाती चरणमा ‘व्हाइट हाउस’ नाम राखेर प्रचार गरिएको थियो। तर निर्माण पक्षले औपचारिक रुपमा फिल्मको टाइटल परिवर्तन गर्दै ‘राजमहल’ बनाएका हुनु। यो फिल्म अर्को वर्ष प्रदर्शन गरिन सक्ने अनुमान निर्माण पक्षले गरेका छन्।