सुचना, समाचार र मनोरन्जन

‘पुजार सार्की’को छायाङ्कन स्थलबाटै आर्यनको भिडियो भाइरल, निर्देशक भन्छन्, ‘समय अगावै आयो’

काठमाडौं :

छायाङ्कनमा रहेको चलचित्र ‘पुजार सार्की’का अभिनेता आर्यन सिग्देलको चरित्र चित्रण हुने भिडियो सोसल मिडियामा भाइरल भएको छ । चलचित्रका निर्देशक दिनेश राउतले आफूले कुनै अवसर पारी लुक्स सार्वजनिक गर्ने तयारी गरिरहेको समयमा एक्कासि भिडियो नै भाइरल भएपछि केही तनाव भएको बताए ।२४ सेकेन्ड लामो भिडियोको युट्युब लिङ्क शेयर गर्दै अभिनेता प्रदीप खड्काले ‘पुजार लिक भयो।

मैतैलाई पत्ता लगाउनुस्’ भनेका छन् । पञ्चेबाजामा छमछम नाचिरहेका आर्यनले टुप्पी पालेका छन् । उनले ढाका टोपी लगाएका छन् । उनको लुक्स हेर्दा उनी पुजारीको भूमिकामा रहेको अनुमान लगाइएको छ । भिडियो फेसबुकमा पनि भेटिएको छ ।

यति बेला अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को कास्की जिल्लाको पोखरा नजिकै पर्ने कास्कीकोटमा छायाङ्कन चलिरहेको छ । यस चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् ।

केही दिन अघि अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पार्दै चलचित्रमा उनको भूमिकाको पात्र परिचय दिने फोटो सार्वजनिक गरिएको थियो । चलचित्रमा प्रदीपको नाम ‘मैत बहादुर’ रहेको खुलाइएको थियो ।

चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका छन् ।एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन् । यस चलचित्रमा पनि भुसाल आफैले सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् ।

Leave A Reply

Your email address will not be published.