सुचना, समाचार र मनोरन्जन

मुख्यमन्त्रीसहित निर्णायक छलफलबाट १९ अलपत्र आयोजनाको निकास खोजिँदै

वर्षौंदेखि ठेक्का सम्झौता भएर पनि निर्माण अघि बढ्न नसकेका कर्णाली प्रदेशका १९ वटा सडक तथा पुल आयोजनाको भविष्य टुंगो लगाउन प्रदेश सरकारले शुक्रबार मुख्यमन्त्रीसहित निर्माण व्यवसायीसँग निर्णायक छलफल गर्ने भएको छ । पटकपटक ताकेता गर्दा पनि काम अघि नबढाएका निर्माण व्यवसायीलाई मुख्यमन्त्रीकै उपस्थितिमा जवाफदेही बनाउँदै आयोजना अघि बढाउने वा ठेक्का तोड्ने भन्ने विषयमा निर्णयमा पुग्ने सरकारको तयारी छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आयोजनामा शुक्रबार बिहान ११ बजे मुख्यमन्त्री मंगलबहादुर शाहीसहितको सहभागितामा छलफल हुन लागेको हो । छलफलमा अलपत्र आयोजनासँग सम्बन्धित निर्माण व्यवसायी, कार्यान्वयन गर्ने कार्यालयका प्रमुख र मन्त्रालयका अधिकारी सहभागी हुनेछन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव राकेश शाहीका अनुसार वर्षौंदेखि रोकिएका आयोजनालाई निकास दिन मुख्यमन्त्रीकै सहभागितामा निर्माण व्यवसायी र सरोकारवाला निकायसँग छलफल गर्न लागिएको हो । आयोजनाको वर्तमान अवस्था, निर्माणमा देखिएका समस्या र काम अघि बढाउने उपायबारे व्यापक छलफल हुने उनले बताए ।

सरकारले यसपटक सामान्य ताकेता मात्रै नभई आयोजनाको अवस्थाअनुसार ठोस निर्णय गर्ने तयारी गरेको छ । निर्माण व्यवसायीलाई काम नगर्नुको कारण सोध्ने, काम सुरु गर्न समयसीमा तोक्ने र अटेर गर्ने व्यवसायीको ठेक्का तोड्ने प्रक्रियासम्म अघि बढाउने मन्त्रालयको तयारी छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा हुने छलफलमा लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेका आयोजनालाई गति दिन सम्बन्धित निर्माण व्यवसायीलाई छलफलमा बोलाएको छ ।

प्रदेश सरकारले हरेक वर्ष अधुरा आयोजनाका लागि बजेट विनियोजन गर्दै आए पनि निर्माण व्यवसायीले काम अघि नबढाउँदा आयोजना अलपत्र पर्ने क्रम रोकिएको छैन । पटकपटक ताकेता गर्दा पनि काम नभएपछि अब कडा कदम चाल्ने निष्कर्षमा पुगेको मुख्यमन्त्री कार्यालयले बताएको छ ।

Pach Pandav

मन्त्रालयका अनुसार १९ वटै आयोजनाको अवस्था एउटै छैन । केहीमा आधा काम भइसकेको छ भने केहीको निर्माण प्रक्रिया नै अघि बढ्न सकेको छैन । त्यसैले मुख्यमन्त्रीसहितको छलफलमा आयोजनागत समस्या पहिचान गरी कुन आयोजना कसरी अघि बढाउने भन्ने विषयमा निर्णय खोजिनेछ ।

हुम्लाको लालीबगर–ओलाथली मोटरेबल पुल निर्माणमा भएको ढिलाइले पनि सरकारी बेवास्ता र निर्माणको सुस्तता देखाउँछ । २०७९ जेठ २७ गते ठेक्का सम्झौता भएको उक्त पुलको भौतिक प्रगति हालसम्म शून्य छ । आगामी २०८४ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि चार वर्षभन्दा बढी समय बितिसक्दा निर्माण सुरु हुन सकेको छैन ।

जाजरकोटका पाँचवटा आयोजना पनि लामो समयदेखि अधुरा छन् । २०७७ असोज २३ गते ठेक्का सम्झौता भएको एउटा पक्की पुलको भौतिक प्रगति हालसम्म २५ प्रतिशत मात्रै छ । म्याद थपसहित २०८१ जेठ ३० गतेभित्र सम्पन्न गर्नुपर्ने पुलको ७५ प्रतिशत काम अझै बाँकी छ ।

त्यस्तै, बारेकोट गाउँपालिका–८ को साघुतरा र नलगाड नगरपालिका–५ को सिर्के जिउला जोड्ने मोटरेबल पुल, छेडा–चाँदे–जुम्ला सडकखण्डको साल्मा खोला पुल र ३० किलोमिटर सडक निर्माण पनि अधुरै छन् । कालीमाटी–खालचौर–नेटीलेक सडकखण्डअन्तर्गत सक्ला–खारी–बयाल–लिम्सा सडकको निर्माणसमेत निर्धारित समयभित्र पूरा हुन सकेको छैन ।

प्रदेश राजधानी सुर्खेतका तीनवटा आयोजना पनि समयमै सम्पन्न भएका छैनन् । रानीघाट–तेलपानी–भुरीगाउँ सडक, घाटगाउँ–गुटु–सालघारी–कोइरालाबास–कुइनेभिर सडक र सवारीसाधन ट्रायल सेन्टर निर्माण निर्धारित समयसीमा नाघिसक्दा पनि अधुरै छन् ।

विकास बजेट विनियोजन हुने तर नागरिकले सडक र पुलको सुविधा पाउन नसक्ने अवस्था अन्त्य गर्न सरकारले शुक्रबारको छलफललाई निर्णायक बनाउने तयारी गरेको छ । मुख्यमन्त्रीसहित निर्माण व्यवसायी र सम्बन्धित कार्यालयका प्रमुख एकै ठाउँमा उपस्थित हुने बैठकले अलपत्र आयोजनालाई काममा फर्काउने समयसीमा तोक्ने, जिम्मेवारी निर्धारण गर्ने र काम नगर्ने व्यवसायीमाथि ठेक्का तोड्नेसम्मको प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.