सुचना, समाचार र मनोरन्जन

‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका

काठमाडौं :

 निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन् । आसुसेन फिल्मस् ले भट्टको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा उनको प्रमुख भूमिका रहने जनाएको छ । समीर नेपाली चलचित्रमा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन् ।

समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समय लगाएर समीरलाई छनोट गरेको बताए ।

‘‘बलिदान’को कहानीमा एक पात्रका रूपमा युग पुरुषलाई छान्न भगीरथ प्रयास गरेका थियौँ। हाम्रो भूमिको यस्तो युग पुरुष जसले, परिवर्तनका नाममा जनतालाई बलि चढाउन लगाएर राज्यको अस्मिता लुटिरहेका कुटिलहरूको संहार गरोस्,’ पात्र छनोटको सङ्घर्ष सम्झँदै निर्देशक सेनले बताए, ‘अभिनेताका रूपमा युग पुरुष खोज्नु हामीलाई आइसल्यान्डमा सर्प खोज्नु जस्तो भएको थियो। बलिदानको युग पुरुषका लागि एक्सन, इमोसन, लुक्स र डाइलग चारै कलामा निपुर्ण कलाकार चाहिने थियो।’

‘एउटा भनाई छ, ‘दैवले तिमीले चिताउनु, म पुर्‍याउँछु भन्छ।’ काम प्रति लगाव भएपछि दैवले पनि खोजेको चिज जुराइदिने रहेछ। निकै दिनपछि हामीले भेट्टायौँ, हामीले खोजेका चारै गुण भएका युवा समीर भट्ट,’ सेन भन्छन्, ‘उनी दसौँ वर्षदेखि मुम्बईमा गुपचुप रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वका धेरै कक्षा र कार्यशालासँगै ठुलै तपस्या गरिरहेका रहेछन् । एकलव्यजस्तो गहन एकान्तमा  रहेर कलाकारिताबारे उनले गरेको यो सङ्घर्ष, मेहनत र तपस्याले उनलाई बलिदानका लागि खरो उतारिदिएको छ।’

समिरले आफ्नै बुबाको निर्देशनमा बन्न लागेको फिल्म ‘१२ गाउँ’मा समेत अभिनय गर्दैछन्।

Leave A Reply

Your email address will not be published.