सुचना, समाचार र मनोरन्जन
Sarangi

प्राधिकरणले अन्तरास्ट्रिय स्तरको डाटा सेन्टर संचालनमा ल्यायो

काठमाडौं

विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौं स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष छ । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर छ ।

डाटा सेन्टरका लागि तोकिएको ‘टियर ३’ अन्तर्राष्ट्रिय मापदण्ड पालना गरी डाटा सेन्टर निर्माण गरिएको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाह डिजिटल तथा आधुनिक बनाउने उद्देश्य पूरा गर्न ‘डिजिटल एनईए’ कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो मोडेलको डाटा सेन्टर नेपालमै पहिलो हो ।

डाटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भर लगायत डाटा एकीकृत भण्डार गरी क्रमशः राखिने जनाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डाटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डाटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउड बनाउन लागिरहेको बताए ।

घिसिङले डाटा सुरक्षाका लागि नवलपरासी सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

विपद् रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डाटा सेन्टरलाई रिकभरी सेन्टरका रूपमा सञ्चालन गरिने छ ।

सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधि ¥याक राखिएको छ । जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क र्‍याक छन् । टियर ३ मापदण्डका लागि तोकिएका सर्त पूरा गर्न आवश्यक व्याकअप सहित अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सीसीटीभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानी लगायत व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ ।

Leave A Reply

Your email address will not be published.