सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

कास्कीका सीडिओ र एसपीको स्वागत र सम्मान

पोखरा /

होटल संघ पोखरा नेपालले कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । सोही अवसरमा संघले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान पनि गरेको छ ।

जिल्लामा शान्ति सुरक्षा कायम राख्दै विविध विकृति नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रहरी प्रमुख थापालाई सम्मान गरिएको हो । प्रहरी प्रमुखका रुपमा थापाले पोखरा भित्रिंदै गरेका पर्यटकलाई गैरकानूनी रुपमा स्कर्टिङ गरी उनीहरुलाई दुःख र हैरानी दिने गिरोहलाई निस्तेज पारेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले स्मरण गराए ।

यसैगरी मोडिफाई गरिएका बाईक नियन्त्रणमा लिई कार्वाही गरेर थापाले ध्वनी प्रदूषण नियन्त्रणमा देखिने र अनुभुत हुने गरी नतिजा दिएको सुवेदीले बताए । सो अवसरमा अध्यक्ष सुवेदीले सात प्रदेशका ७७ वटै जिल्लामा होटल संघको संजाल रहेको, प्रदेश स्तरमा समेत संघका समिति रहेको र लगानीका हिसावले सबै भन्दा ठूलो पर्यटनको क्षेत्र होटल नैै रहेको सुवेदीले बताए । पोखरा र वरपरको होटल क्षेत्रमा मात्र पाँच खर्ब रुपैयाँ लगानी रहेको तथ्यंक पनि उनले सुनाए ।

IVF Big

कार्यक्रमका अवसरमा संघका सल्लाहकार र पदाधिकारीहरुले पोखरा पर्यटकीय राजधानी घोषणासँगै रात्रीकालिन व्यवसाय २४ घण्टा खोल्न पाउने सन्दर्भमा त्यस्तो व्यवसायलाई व्यवस्थित गर्न ४१ बुँदे आचारसंहिता पालना गराउनुपर्ने र अनुगमन समेत अगाडि बढाइनुपर्ने सुझाव राखे । पर्यटकीय अपार्टमेण्टमा हुनसक्ने अवाञ्छित गतिविधिप्रति सचेत हुनुपर्ने, अव्यवस्थित पार्किङको समस्या सुल्झाउनुपर्ने र माशिक रुपमा प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय बैठक राखी जनता र व्यवसायीका समस्या, गुनासो र सुझाव सुन्ने व्यवस्थाका लागि समेत सोे अवसरमा अनुरोध गरिएको थियो ।

भारतीय पर्यटक बढेको बेला अहिले सिमा नाकाबाट पोखरा आउँदा उनीहरुमाथि धेरै ठाउँमा चेकिंग हुँदा हैरानी व्यहोर्नुपर्ने अवस्था रहेको र नगरबसले जथाभावि पार्किङ गर्ने तथा नो हर्नको नियम समेत पोखरामा प्रभावकारी रुपमा लागू हुन नसकेको गुनासो व्यवसायीले गरेका थिए । कार्यक्रममा हानका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष भरतराज पराजुली, हान गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, संघका सल्लाहकारहरु बच्चुराम तिवारी, मेहरमान श्रेष्ठ, उपाध्यक्ष गणेशराज पहारी र कोषाध्यक्ष नेत्रप्रसाद पौडेल लगायतले भनाई र सुझाव राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले पर्यटकीय क्षेत्र लगायत समग्र जिल्लाको सुरक्षा र उपभोक्ता अधिकार तथा हितलाई समेत ख्याल गरेर प्रहरी प्रशासन अगाडि बढ्ने प्रतिबद्धता सुनाए । यसका लागि प्रहरी प्रशासन व्यवसायीसँग हातेमालो गरेर नै अगाडि बढ्ने उनले बताए ।

प्रहरी उपरीक्षक थापाले विविध विकृति विरुद्ध कास्की प्रहरीले आफ्नो अभियानलाई जारी रहेको बताए । मोडिफाई गरिएका छ सय ८१ मोटरसाइकललाई कार्बाही गर्दा मात्र ५० लाख रुपैयाँ राजश्व संकलन भएको जानकारी उनले दिए । मोडिफाई गरिदिने वर्कसपलाई पनि कार्वाही गरिएको र अहिले कुनै पनि वर्कसपले वाइक मोडिफाई नगर्ने प्रहरी उपरीक्षक थापाले सुनाए । क्लब र डिस्कोबाट निस्कँदा राति वा विहान वियर र रक्सीको बोतल लिएर निस्कनेलाई पनि कार्वाही गरिने उनले बताए । इमान्दारितापूर्वक आफूले गर्नै पर्ने काम गरेको बताउँदै उनले यसक्रममा आफू सम्मानित भएकोमा संघलाई उनले धन्यवाद दिए । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.