काठमाडौँ/
सौर्य एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आफन्तलाई जिम्मा लगाउन शुरू भएको छ ।
त्रिवि शिक्षण अस्पतालले सबैको पोस्टमार्टम रिपोर्ट सम्पन्न गरी शव बुझाउन शुरू गरेको हो । अहिलेसम्म पाँच वटा शव आफन्तले लगेका छन् । बाँकीका आफन्तले बीमालगायतको विषय नटुङ्गिएसम्म शव जिम्मा नलिने अडान लिँदा ढिला भइरहेको छ ।
अस्ति बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटनामा हुँदा १८ जनाको ज्यान गएको थियो । शवलाई त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा। गोपालप्रसाद चौधरीसहितको २५ जना टोलीले पोस्टमार्टम गरेको हो ।
यसैबीच सौर्य एअरलाइन्सले अस्ति भएको दुर्घटना अकल्पनीय भएको बताउँदै अत्यन्तै मर्माहत र भावविह्वल भएको बताएको छ । अध्यक्ष तथा सम्पूर्ण परिवारका तर्फबाट निकालेको विज्ञप्तिमा पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सद्भाव सधैँ रहने उल्लेख छ ।
दुर्घटनामा बाँच्न सफल क्याप्टेन मनिषरत्न शाक्यको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ । अहिले क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँलाई सघन कक्षबाट सामान्य बेडमा सारेको अस्पतालले जनाएको छ ।