काठमाडौं /
बंगलादेशमा जागिरमा आरक्षण खारेजी र प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गर्दै सत्तारुढ दलका समर्थक र प्रदर्शनकारीबीच भड्किएको हिंसामा १४ प्रहरीसहित करिब १०० जनाको ज्यान गएको छ। सयौं घाइते भएका छन् । पूरै देशमा अनिश्चितकालका लागि कर्फ्यू लगाइएको छ र इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ।
सरकारी जागिरको लागि कोटा प्रणाली खारेजीको माग गर्दै विद्यार्थीको लामो समयदेखि भएको आन्दोलन आइतबार हिंसात्मक बनेको थियो । बंगलादेशको प्रमुख अखबार प्रथम आलोले देश भरी झडप, गोलीबारी र प्रतिकारमा कम्तिमा १०० जनाको ज्यान गएको भन्दै अब उनीहरूको एउटै माग प्रधानमन्त्री शेख हसिनाको राजीनामा भएको बताएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार देशभर १४ प्रहरीको मृत्यु भएको छ । जसमध्ये सिराजगन्जको प्रहरी चौकी इनायतपुरमा १३ जनाको मृत्यु भएको थियो । करिब तीन सय प्रहरी घाइते भएको बताइएको छ ।
आन्दोलनकारीहरूले १९७१ स्वतन्त्रता सेनानीका परिवारका लागि ३० प्रतिशत सरकारी जागिरमा आरक्षणको कोटा प्रणाली खारेज गर्न माग गरिरहेका छन्। यसअघि हिंसा भड्किएपछि अदालतले कोटाको सीमा घटाएको थियो । तर हिंसा रोकिएन र अहिले प्रदर्शनकारीहरूले शेख हसिनाको राजीनामा माग गरिरहेका छन्।
हालसम्म ११ हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । अधिकारीहरूले दाबी गरेअनुसार प्रदर्शनकारीहरूले प्रहरी स्टेशनहरू, सत्तारुढ दलका कार्यालयहरू र उनीहरूका नेताहरूको निवासमा आक्रमण गरे र धेरै सवारी साधनहरू जलाए। सरकारले मेटा प्लेटफर्म फेसबुक, मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम बन्द गर्न आदेश दिएको छ ।
यसैबीच प्रधानमन्त्री हसिनाले आन्दोलनको नाममा देशभर ‘तोडफोड’ गर्नेहरु विद्यार्थी नभई आतंकवादी भएको बताइन् र उनीहरुलाई कडाइका साथ दमन गर्न आदेश दिइन् । उनले भनिन्, ‘म देशवासीलाई यी आतंकवादीहरूलाई कडाइका साथ दमन गर्न अपील गर्दछु।’