काठमाडौं :
अभिनेता दयाहाङ राई र मिरुनाको जोडी बाधेर निर्माण गरिएको फिल्म ‘घरज्वाइँ’ले हलमा ५१ दिन मनाएको छ। गत असार २८ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले हिजोबाट ५१ दिन पार गर्दै चौथो हिट फिल्म बनेको छ।
यो फिल्मका गीतदेखि ट्रेलरले समेत खासै राम्रो हाइप बनाएका थिएनन् भने केहि समुदायका मानिसहरुले यो फिल्मका केहि दृश्यमा आपत्ती जनाएका थिए। विभिन्न अवरोधकाबीच फिल्मले ६ वटा हलमा ५१ दिन मनाउन सफल भएको छ। यस अघि हिट फिल्ममा ‘बोक्सीको घर’, ‘मनसरा’ र ‘पूजार सार्की’ रहेका थिए।
शनिबार निर्माण पक्षले कलाकार र पत्रकार सम्मेलन गदै देशको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका तीनवटा हल, गोंगबुस्थित बिएसआर मुभिज, सामाखुसीमा रहेको क्यूएफएक्स चेनको सिटी स्क्वायर हल र नेपालगन्जस्थित सिने रोयल हलमा फिल्मले ५१औं दिन मनाउन सफल भएको हो।
यो फिल्मले ५१औं दिनसम्ममा लगभग ६ करोडको व्यापार गरेको जानकारी प्राप्त छ। बढीमा २ करोडको बजेटमा निर्माण भएको फिल्मले निर्मातालाई लगानी उठाएर नेपालबाट मात्र डेढ करोडमाथि मुनाफा दिनसक्ने देखिन्छ। विदेश प्रदर्शन अधिकारबाट पनि निर्माताले राम्रो रकम हात पारेको जानकारी प्राप्त छ । यो फिल्म सफल हुनुमा आदिवासी जनजाती समुदायको ठूलो योगदान छ।
मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित यस फिल्मलाई अनिल बुढा मगरले निर्देशन र जनक घर्ती मगरले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको अभिनय छ।