पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य खुश्बु ओलीले देशव्यापी युवा संवादको नेतृत्व गर्दै सुदूरपश्चिमबाट आफ्नो यात्रा सुरु गर्न लागेकी छिन्। पहिलो चरणमा उनले सुदूरपश्चिमका ९ जिल्लाहरू भ्रमण गरी स्थानीय युवाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूको समस्याहरू सुन्ने र समाधानको उपाय पहिल्याउने योजना अघि सारेकी छन्।
ओलीले यो अभियानलाई एक युवा जागरणको रूपमा वर्णन गर्दै भनिन्, “देशका युवाहरूलाई विदेश जानबाट रोक्नु र स्वदेशमै अवसरहरू सिर्जना गर्नु अहिलेको प्रमुख चुनौती हो। हामीले युवालाई देशमै समृद्धिको सपना देखाउन र त्यही अनुसार अवसर दिनुपर्नेछ।”
उनको यो अभियानले मात्र राजनीतिक संवाद नभई सामाजिक परिवर्तनको अभियानको रूपमा लिइएको छ। ओलीले सबै राजनीतिक दलका युवा, नागरिक समाजका अगुवा र विभिन्न क्षेत्रका व्यक्तिहरूसँग मिलेर समाजका वास्तविक समस्याहरू पहिचान गर्न र तिनको समाधानका लागि सम्बन्धित निकायलाई जागरूक गराउन खोजिरहेकी छिन्।
यात्राको क्रममा संकलित अनुभव र तथ्यांकलाई वृहत् रिपोर्ट र भिडियो सामग्रीका रूपमा तयार गरी सम्बन्धित निकायलाई बुझाउने योजना रहेको ओलीले बताइन्। उनले थप गरिन्, “यो यात्रा देशका वर्तमान समस्याहरू समाधान गर्न महत्त्वपूर्ण कडी बन्नेछ।”