अमेरिकाको न्यूयोर्क लङ आइल्याण्डस्थित हेम्स्टेड टाउनको कार्यालयमा नेपालको संविधान दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा हेम्स्टेड टाउनका प्रमुख डोन क्लेबिन र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संयुक्त रूपमा नेपालको राष्ट्रिय झण्डा फहराएर ऐतिहासिक क्षणको साक्षी बनेका छन्।
पोखराका मेयर धनराज आचार्य र कोर्डिनेशन कमिटी अफ नेपाली कम्युनिटीज अमेरिकाका अध्यक्ष बाबुराम शर्माले टाउन अफ हेम्स्टेडका सुपरवाइजर डन केल्विनलाई नेपाली टोपी लगाएर सम्मान गरेका थिए। साथै, मेयर आचार्यलाई नौमती पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो, जसले नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय भूमिमा प्रवर्द्धन गरेको छ।
यस कार्यक्रममा कार्यवाहक राजदूत कुमार खरेल, टाउन क्लर्क काटे मुरे, कोर्डिनेशन कमिटी अफ नेपाली कम्युनिटीज अमेरिका तथा लङ आइल्याण्डका विभिन्न संघसंस्था र कोर्डिनेशन कमिटीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सुपरवाइजर डन केल्विनले नेपाली समुदायलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने मेयर धनराज आचार्यले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन हेम्स्टेड टाउनका अधिकारीहरू र नगरवासीहरूलाई पोखरा भ्रमणको निमन्त्रणा दिएका थिए। उनले नेपालको पर्यटन क्षेत्रलाई विश्वभर परिचित गराउने प्रयासमा हेम्स्टेड टाउनसँगको सहकार्यलाई महत्वपूर्ण ठहराए।
यो कार्यक्रम सफलताका साथ सम्पन्न गर्न संस्थापक तथा समाजसेवी वेद प्रसाद खरेल, विश्वराज बास्तोला लगायतका पदाधिकारीहरूले विशेष भूमिका निर्वाह गरेका थिए। मेयर धनराज आचार्यको नेतृत्वले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नेपालको पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याएको छ।
यस ऐतिहासिक कार्यक्रममा मेयर आचार्यको सक्रिय सहभागिताले नेपाली समुदायलाई गर्व गर्न लायक बनाएको र विदेशमा रहेका नेपालीहरूको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।