पोखरा :
पोखरा उद्योग वाणिज्य संघले पोखरा चेम्बर अफ कमर्स कास्कीका नवनिर्वाचित अध्यक्ष उमराज बास्तोला, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेको छ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी÷व्यवसायीहरुका समस्या समाधान एवं नीतिगत पैरवीमा दुवै संस्थाबीच कार्यगत एकता जरुरी रहेको बताए । समग्र कास्कीको आर्थिक उन्नतिका लागि पनि व्यावसायिक संस्थाहरुबीच सहकार्य जरुरी रहेको उनको भनाइ थियो।
पोखरा चेम्बर अफ कमर्सं,कास्कीका अध्यक्ष उमराज बास्तोलाले व्यवसायीमाथि आइपर्ने समस्या सल्टाउन निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा सहमति जनाउँदै पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने वचनवद्धता प्रकट गरे।
पोउवा संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्रका समस्या एउटै भएकाले उद्योगी÷व्यवसायीमाथि समस्या आइपर्दा निजी क्षेत्रले एउटै स्वर निकाल्नुपर्नेमा जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले सहकार्य र सहयोगले मात्र लक्ष्य प्राप्ति हुने हुँदा पोउवा संघ र चेम्बरबीच सहयोग आदान–प्रदान जरुरी रहेको बताए । पोउवा संघकी महासचिव शोभा गौतमले नजिकिँदै गरेको चाडबाडको शुभकामना व्यक्त गर्दै चाडबाडको समयमा व्यवसायीमाथि हुने सम्भावित धरपकडविरुद्ध एकजुट हुनुपर्ने बताइन् ।