कास्की : जनप्रिय बहुमुखी क्याम्पसले आसन्न दसैँ, तिहार, नेपाल सम्बत्, छठ, ल्होसार पर्वको छेको पारेर शुभकामना आदानप्रदान तथा सिर्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
असोजको दोस्रो साता विपतमा परी ज्यान गुमाएका मृतकका प्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजेक्छेले शैक्षिक संस्थालाई गतिशील र जीवन्त बनाउन प्राध्यापक तथा कर्मचारीको भूमिका अहम् हुने बताए। उनले आफ्नो कर्तव्य सही तरिकाले निर्वाह गरेमा क्याम्पसको उन्नति र प्रगति हुने हुँदा यसैलाई शुभकामना मान्न आग्रह गरे ।
निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले शुभकामना मन्तव्य दिँदै भने, ‘मानित विश्वविद्यालयतर्फ उन्मुख क्याम्पसको साखलाई कायम राख्ने दायित्व शिक्षक कर्मचारीको हो ।’
खड्काले पेसागत मर्यादालाई ख्याल गर्दै गुणस्तरमा संझौता नगर्नु नै असल शिक्षकको भूमिका भएकोले क्याम्पसलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्दै शुभकामना आदानप्रदान क्याम्पसको ३ दशकदेखिको संस्कृति भएको जनाए । क्याम्पस सञ्चालक समितिका सदस्य विजयराज आचार्यले साँस्कृतिक अतिक्रमको खतरा बढेकाले नेपालीहरूका चाडपर्व र संस्कृति जोगाउन चुनौती भएको हुँदा मितव्ययी र सिर्जनशील भई मनाउन आग्रह गरे ।
पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय सदस्य भेषराज उपाध्याय बराल, केन्द्रीय सल्लाहकार वेदहरी तिमिल्सिना, पूर्व क्याम्पस प्रमुख लोकराज भण्डारी, पूर्व निमित्त क्याम्पस प्रमुख कृष्णबाबु बराल, सहायक क्याम्पस प्रमुख मेखराज पौडेल, प्राध्यापक संघका विकास थापामगर, प्रगतिशील प्राध्यापक संगठनका सन्तोष अधिकारी, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष नरेश बराल र लेखा प्रमुख निमराज पौडेलले विगत ३३ वर्षदेखि समुदायमा आधारित क्याम्पसले आर्जन गरेको गरिमा गौरव गर्न लायक भएको बताए ।
क्याम्पसलाई कार्यथलो मानी काम गर्ने प्राध्यापक कर्मचारीको जरुर भलो हुने हुँदा चौतर्फी धाउँदा हुने सास्तीको अन्त्य गर्दै क्याम्पसको गुणस्तर कायम राख्न शिक्षक कर्मचारीको अहम् भूमिका हुने जनाए । शुभकामना आदानप्रदानसँगै शिुलु चालिसे, टंकराज बरालले गीत गायन प्रस्तुत गरेका थिए भने राजेन्द्र पौडेल र सुरेश रानाभाटले कविता वाचन गरेका थिए ।
जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धन र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मान्यता प्राप्त गरेको छ । मानित विश्वविद्यालयको गोरेटोमा अगाडि बढेको जनप्रियले आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वयत्त कार्यक्रम अन्तर्गत एमविए इन हस्पिट्यालिटी म्यानेजमेन्ट र स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) को शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
क्याम्पसमा प्रातः र दिवा सत्रमा ४ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् जनप्रियले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षा मन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ भने २०८१ मा गण्डकी प्रदेशको सर्वोकृष्ट सामुदायिक क्याम्पसका रूपमा पुरस्कृत भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा सर्वोकृष्ट ठहरिएको छ भने तेस्रो चक्रका लागि प्रक्रियामा रहेको छ । क्याम्पसमा १ सय ५० प्राध्यापक र ३८ जना कर्मचारी कार्यरत छन् ।
यही असोज १७ गतेदेखि कात्र्तिक १९ गतेसम्म प्राध्यापक र विद्यार्थीका लागि क्याम्पसमा दसैंतिहार, छठको छुट्टी भए पनि प्रशासनिक काम भने यथावत् सञ्चालन हुने जानकारी उपप्रशासक एकनारायण अर्यालले दिए । पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल र पब्लिक क्याम्पस कर्मचारी संघ जनप्रिय बुहुमुखी क्याम्पस इकाईको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता विकास थापामगरले गरेका थिए ।
कर्मचारी संघका अध्यक्ष देवी पनेरुले स्वागत मन्तव्य राखेका थिए भने प्राध्यापक संघका सचिव राजेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।