काठमाडौ/
बाढी पहिरोले क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेनाले सक्रिय भएर काम गरिरहेको छ । वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्त्वका पक्की पुल र ग्रामीण सडक मर्मत गर्न ६ हजार जना सेना खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागको अनुमानसँगै सेनाले १४ हजार जनशक्ति विपद् प्रतिकार्यमा खटाउन तयार गरेको थियो । विपद् प्रभावित जिल्लाहरू– काठमाण्डाै, ललितपुर र भक्तपुरसँगै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, रामेछाप र पाँचथरमा तत्काल खोज तथा उद्धारमा जुटेको उहाँले जानकारी दिनुभयो ।
बीपी राजमार्ग, अरनिको राजमार्ग, मध्यपहाडी लोकमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलगायत राजमार्ग तथा ग्रामीण सडक, दुई जिल्ला जोड्ने पक्की पुल निर्माण गरी यातायात सञ्चालन गर्न सेनाका प्राविधिकसहितका जनशक्ति खटिएका छन् ।
मुख्य जिम्मेवारीका रूपमा खुर्कोटको सुनकोशी नदीमा ‘बेलिब्रिज’ राख्ने तथा रोशी खोला करिडोरअन्तर्गत बीपी राजमार्गको ठाउँठाउँमा क्षतिग्रस्त सडकको विस्तृत अध्ययनका लागि सेनाका प्राविधिकले सडक विभागको टोलीलाई सहयोग गरिरहेको छ ।