सुचना, समाचार र मनोरन्जन

पर्यटकलाई नेपाली दसैँ संस्कृतिको अनुभव गराउन पोखरामा महोत्सव

पोखरा,

नेपाली मौलिक संस्कृति, परम्परा र दसैँ पर्वको महत्व विदेशी पर्यटकलाई जानकारी गराउने उद्देश्यले पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। महिला पर्यटन व्यवसायी मञ्चको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको प्रवर्द्धनमा कात्तिक ८ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन महोत्सव हुन लागेको हो। महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने मूल नाराका साथ पोखरा–६, लेकसाइडस्थित बाराहीघाट मैदानमा आयोजना हुने महोत्सवमा विदेशी तथा स्वदेशी पर्यटकलाई नेपाली दसैँको मौलिक परम्परा र संस्कृतिबारे जानकारी गराइनेछ।

महोत्सवमा सहभागी पर्यटकलाई ज्येष्ठ नागरिकबाट दसैँको टीका र जमरा लगाई आशीर्वाद प्रदान गर्ने कार्यक्रमसमेत राखिएको छ। नेपाली समाजमा दसैँका बेला ज्येष्ठ नागरिक तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परालाई पर्यटकसमक्ष प्रस्तुत गर्दै नेपाली संस्कृति प्रत्यक्ष अनुभव गराउने आयोजकको उद्देश्य छ।

महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष ममता न्यौपानेका अनुसार महोत्सवमा पर्यटकलाई दसैँको टीका र जमरा लगाएर नेपाली परम्पराको महत्वबारे जानकारी दिइनेछ। दसैँ पर्वलाई पर्यटनसँग जोड्दै नेपाली मौलिक संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको उनले बताइन्।

Chaka Panja

मञ्चकी संस्थापक अध्यक्ष जमुना पहारी पराजुलीले महोत्सवमार्फत विदेशी पर्यटकलाई बडादसैँको सांस्कृतिक, धार्मिक तथा सामाजिक महत्वबारे जानकारी गराइने बताइन्। उनका अनुसार महोत्सवले नेपाली संस्कृति र पर्यटनबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

महोत्सव सम्पन्न गर्न मञ्चकी निवर्तमान अध्यक्ष उमादेवी भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। संयोजक भण्डारीका अनुसार महोत्सवमा सांस्कृतिक विविधता, स्थानीय जीवनशैली, मौलिक नेपाली परिकार, कला, परम्परागत रोटेपिङ तथा अन्य सांस्कृतिक गतिविधि प्रस्तुत गरिनेछ।

कोजाग्रत पूर्णिमाका दिन बिहान १०ः३० बजे खहरे चोकदेखि बाराहीघाटसम्म सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिनेछ। र्‍यालीमार्फत नेपाली कला, संस्कृति र परम्पराको प्रदर्शन गर्दै पोखराको पर्यटन प्रवर्द्धन गरिने आयोजकले जनाएको छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले नेपाली संस्कृतिलाई पर्यटनसँग जोडेर पर्यटकलाई मौलिक परम्पराको प्रत्यक्ष अनुभव गराउने प्रयास सकारात्मक भएको बताए। यस्ता कार्यक्रमले पोखराको पर्यटनलाई सांस्कृतिक पहिचानसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम रहेको छ। पत्रकार सम्मेलनको सञ्चालन महिला पर्यटन व्यवसायी मञ्चकी महासचिव भावना रानाभाटले गरेकी थिइन्।

Leave A Reply

Your email address will not be published.