कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन। बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य छ। विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पुर्याएको हो।
आर्थिक रुपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढने गरेका छन्। दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजादा पढाइ प्रभावित हुँदै आएको थियो।
“कक्षा दोहर्याउने, बीचमै विद्यालय छाडने र कक्षामा नियमति विद्यार्थी नआउने समस्या विगतमा थियो” विद्यालयका दिवा खाजा व्यवस्थापन गर्दै आएका स्रोत शिक्षक डवलबहादुर ठगुन्नाले भने, “दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेका छन्।”
उनका अनुसार नगरको शिक्षा शाखाबाट बालकक्षादेखि ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खुवाउनका लागि प्रति विद्यार्थी रु १५ का दरले विद्यालयमा रकम निकासा पठाइने गरेको छ। त्यसै रकमबाट विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको श्रोत शिक्षक ठगुन्नाले बताए।
“कुन बार कस्तो खाने कुरा खुवाउने भन्ने बारे ‘मेनु’नै बनाएका छौं” उनले भने, “त्यसैअनुरूप विद्यार्थीलाई पौष्टिक आहार प्रदान गर्ने स्थानीय उत्पादनमा आधारित खाजा बनाएर विद्यार्थीलाई वितरण गरिन्छ।”
विद्यालयमा अध्ययनरत तीन सय १० जना विद्यार्थीलाई आइतबार खिर, सोमबार दालभात, मङगलबार फ्राइ गरिएको चना, बुधबार अण्डा राखिएको राइस फ्राई, विहीबार खिचडी र शुक्रबार फलफूल खुवाइने गरिन्छ। खाजा खुवाउने र भान्सा सरसफाइको कार्यका लागि एक जना भान्सेको पनि व्यवस्था गरिएको छ।
विद्यालयमै खाजा पाइन्छ भनेर विद्यार्थी नियमित विद्यालय आउने र दिनभर कक्षामा बस्ने गरेको विद्यालयका शिक्षक अमरबहादुर महराले बताए।
खाजा कार्यक्रमको रकमबाट खाना बनाउन आवश्यक हुने भाँडाकुडा खरिद संगै भान्सेको मासिक तलव रु सात हजार व्यहोरिदै आएको छ।
दिवा खाजाको खर्च आम्दानीको विवरण हरेक तीन÷तीन महिनामा शिक्षक स्टाप बैठक बसेर अनुमोदन गरी आवश्यक राय सुझावहरुलाई कार्यान्वयनमा लैजाने गरिन्छ। दिवा खाजाका लागि विद्यालयले वार्षिक योजना बनाई कार्यान्वयनमा गर्दै आएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले बताए।