सुचना, समाचार र मनोरन्जन
Sarangi

मुस्ताङको सौन्दर्य चित्रमा

म्याग्दी : कलाकारले मुस्ताङको प्रकृति, संस्कृति र मौलिकतालाई चित्रमा उतारेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सवमा सहभागी कलाकारले स्थलगत भ्रमण गरी देखेका दृष्यलाई चित्रमा उतारेका हुन् । मुस्ताङका पाँचवटा गाउँमा पुगेका कलाकारले स्थलगत रुपमा कला प्रदर्शनी गरेका महोत्सवका संयोजक त्रिपल पि गुरुङले जानकारी दिए। यही कात्तिक ३ गतेदेखि सुरु भएको महोत्सव शुक्रबार ठिनीमा समापन गरिएको हो ।

“महोत्सवमा सहभागी कलाकारले जोमसोम, ठिनी, कागबेनी, मुक्तिनाथ, झोङ, झारकोट, तिरीको अवलोकन गर्दै चित्र कोर्नुभयो”, संयोजक गुरुङले भने, “महोत्सवले मुस्ताङको पारम्पारिक सङ्गीत, नृत्य र विभिन्न सांस्कृतिक परम्परालाई चित्र कलामार्फत विश्वभर प्रचार गर्न सहयोग पुगेको छ ।”

परम्परागत सङ्गीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकार माझ बाँड्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सवमा सहभागीहरुले मुस्ताङका गाउँ, जनजीवन, हिमाल, पशुपालन, संस्कृति, कृषि, गुम्बा, मन्दिरको चित्र कोरेका थिए ।

कलाकार मनोज तामाङले कल्पना गरेको भन्दा आफैँले देखेको विषयवस्तुलाई चित्रमा उतार्न सजिलो र वास्तविकता जस्तै भएको बताए। स्थानीयवासीका साथै विदेशी पर्यटकहरुले चित्रकारहरुले चित्र कोरेको अवलोकन गरेका थिए ।

महोत्सवमा सहभागी हुन थाइल्यान्डका डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डका इवा क्रुएजकोस्का, रोमानियाका स्टेफन बालोग, भुटानका जामपेल छेदा, इन्डोनेसियाका एमी गोर, ताइवानका छेङ हान वेनलगायतका अन्तर्राष्ट्रिय कलाकार मुस्ताङ आएका थिए ।

नेपालका कलाकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नवीन नाल्बो र आकाश गुरुङ पनि महोत्सवमा सहभागी भएका थिए।

Leave A Reply

Your email address will not be published.