सुचना, समाचार र मनोरन्जन

र्‍यान्डममा रेणुकाको गरियो निबन्धकृति ‘तुइन जिन्दगी’ को परिचर्चा

पोखरा :

र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा डा. रेणुका सोलुको निबन्धकृति ‘तुइन जिन्दगी’ को परिचर्चा गरेको छ। कृतिको परिचर्चा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले सोलुले निबन्धमा सत्यमाथिको अन्याय, अत्याचार र थिचोमिचोका विरुद्ध परिवार, समाज र सरकारसित कडा प्रतिवाद गरेकी बताए ।

‘आमाहरू र समस्त नारी जातिमाथिको विभेद तथा विभेदपूर्ण समाज, संस्कार तथा परिवेशहरूमाथिको उनको यो खबरदारी साँच्चै प्रशंसायोग्य छ’, डा. अधिकारीले भने,‘एउटी नारीको सङ्घर्षपूर्ण जीवनको लामो फेहरिस्त किताबमा छ।’

Pach Pandav

जीवन बाँच्ने वा बाँच्न चाहने धेरै आमादिदीबहिनीहरूको भावनालाई कृतिले समेटेको बताउँदै उनले सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक दुर्गमता तथा दुरवस्थाले गाँजिएका आम नारीहरूको चेतना र सङ्घर्षको दस्तावेजका रूपमा कृति आएको बताए।‘तुइन जिन्दगी’ नारीमाथि गरिएका अन्याय, अत्याचार, कुसंस्कृति, धार्मिक–सामाजिक असामानता, विभेद आदि इत्यादिका विरुद्ध उभिएको एउटा लिखित दस्तावेजहरूको समष्टिगत स्वरूपका रूपमा आएको डा. अधिकारीको भनाइ थियो।

निबन्धकार सोलुले आफूले जीवनमा भोगेका तितामिठा कुराहरूलाई अनुभूतिको गहिराइमा पुगेर लेखेको बताइन्। कृतिमा लेखिएका निबन्धहरू यथार्थको धरातलमा टेकेर लेखिएको बताउँदै डा. सोलुले आज पनि महिलाले भोग्नुपरेको अनेकौँ पीडाहरू लेखिसाध्य नै नभएको बताइन् । विश्वविद्यालय जस्तो प्राज्ञिक निकायमा समेत महिला हिंसाको कहालीलाग्दा घटना आफूले देखेको बताउँदै उनले समाज परिवर्तनका लागि सचेत वर्गले आवाज उठाउन छोड्न नहुने बताइन्।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा गुञ्जन साहित्य समाजकी अध्यक्ष जलेश्वरी श्रेष्ठ र संस्थापक अध्यक्ष पद्मावती सिंहले शुभकामना दिएका थिए। सोसाइटीका सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा डा. रजनी ढकाल, कुमार तामाङ, बाबुराम सुवेदीलगायतले टिप्पणी गरेका थिए। सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.