काठमाडौं :
यही माघ १६ गते रिलिज हुने फिल्म ‘एक्टर : टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ। यो कन्टेस्टका एक जना विजेताले ‘एक्टर : टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्स् प्रा.लि.ले निर्माण गर्ने आगामी फिल्ममा अभिनयको लागि अवसर प्राप्त गर्नेछन्।
यो कन्टेस्टमा विश्वभरका नेपालीहरूले सहभागिता जनाउन सक्नेछन्, जसको लागि फिल्म ‘एक्टर : टेक वन’को टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तीमा १ मिनेट लामो भिडियो बनाई आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्नुपर्ने हुन्छ। पोस्ट गर्दा यस फिल्मका ह्यान्डलहरू फेसबुकमा aktornepalifilm, इन्स्टाग्राममा aktorthefilm र टिकटकमा aktornepalifilmलाई ट्याग वा मेन्सन गर्नुपर्ने तथा ह्यासट्यागमा ३ब्प्त्इच्ःब्न्ज्ज्ञट लेख्नुपर्ने जनाइएको छ।
यो कन्टेस्टमा सहभागीले नियमपूर्वक पोस्ट गरेका भिडियोलाई फिल्मको आन्तरिक सृजनात्मक टिमले मूल्याङ्कन गरी विजेता घोषणा गरिने बताइएको छ। यो कन्टेस्टको समयावधि फिल्म रिलिजको दोस्रो हप्तासम्म रहने छ। यस कन्टेस्टको लागि ‘एक्टर : टेक वन’का कलाकार प्रदिप खड्काले विजेता घोषणा गर्नेछन्।
हालै सार्वजनिक भएको ट्रेलरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको फिल्म युनिटले कलाकार हुन चाहने नयाँ र प्रतिभावान् व्यक्तिलाई अवसर प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ। हालसम्म ट्रेलरलाई पच्चीस लाख भन्दा धेरैले युट्युबमा हेरेका छन् भने नेपाल ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ।
राजन भुसालद्वारा निर्देशित यस फिल्ममा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव,सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो फिल्ममा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह(निर्माता अनीश भुसाल रहेका छन्।