सुचना, समाचार र मनोरन्जन

‘एक्टर : टेक वान’को प्रदर्शन अदालतले रोक्यो

काठमाडौं : भोलीबाट देशभरका हलमा लाग्ने तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएको छ। काठमाडौं जिल्ला अदालतले भोलि बुधबारबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि प्रदर्शन रोकिएको हो।

मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले उक्त आदेश दिएको हो । अब अदालतले दुवै पक्षलाई यहीँ माघ २२ गते छलफलका लागि समेत बोलाएको छ। अदालतले आदेशमा भनिएको छ,‘निवेदकको चलचित्र ‘एक्टर’ प्रदर्शन भइरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर : टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीका नाममा यो अल्पकालीन आदेश जारी गरिदिएको छ ।’

फिल्म ‘एक्टर’ गत माघ ४ गते प्रदर्शनमा आइसकेको छ। यसैका प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट सम्राट थापाले आफ्नो फिल्मको नाम र कथावस्तु चोरी गरेर ‘एक्टर : टेक वन’ निर्माण गरिएको दाबीसहित फिल्मको प्रदर्शन रोक्न माग गर्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए।

यता भोलीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर : टेक वान’मा राजन भुसालको निर्देशन रहेको छ भने कलाकारका रुपमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, सुशील सिटौला, निश्चल बस्नेत लगायतको अभिनय छ। यो फिल्मको अग्रिम टिकट समेत बिक्री भइरहेको थियो। यसबारेमा भने निर्माण पक्ष अन्योलमा रहेको छ।

Leave A Reply

Your email address will not be published.