सुचना, समाचार र मनोरन्जन

ग्लोबल फिनटेक फेस्ट २०२६ : पेटिएमले जितेको विधामा यसपटक नेपाली कम्पनी आइमार्कको प्रतिस्पर्धा

कास्की :

नेपालको डिजिटल भुक्तानी क्षेत्रमा काम गर्दै आएको आइमार्क प्रालि प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन ‘ग्लोबल फिनटेक फेस्ट (जीएफएफ) २०२६’ को ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा मनोनयनमा परेको छ। आगामी सेप्टेम्बर ८ देखि ११ सम्म भारतको मुम्बईमा आयोजना हुने यस सम्मेलनमा विश्वभरका बैंक, वित्तीय संस्था, नियामक, फिनटेक कम्पनी र स्टार्टअपहरूको बृहत् सहभागिता रहनेछ।

Protin

गत वर्ष भारतीय भुक्तानी प्रणाली पेटिएमले जितेको यो विधामा यस वर्ष नेपाली कम्पनी आइमार्कसँगै क्याम्सपे, बैंक अफ इन्डिया, स्प्रिन्टपीजीएक्स र इन्भ्वाइसमार्ट जस्ता संस्थाहरू प्रतिस्पर्धामा रहेका छन्। ‘पोटेन्सियल टु इम्प्याक्ट’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस वर्षको जीएफएफमा एजेन्टिक एआई, टोकनाइजेसन, क्वान्टम प्रविधि, वित्तीय समावेशीकरण र डेटा रूपान्तरण जस्ता आधुनिक विषयमा छलफल हुनेछ।

आयोजकका अनुसार ८० भन्दा बढी देशका एक लाखभन्दा बढी सहभागी, पाँच हजार संस्था र एक हजारभन्दा बढी वक्ताहरू सहभागी हुने यो मञ्चमा नेपाली फिनटेक कम्पनी सर्टलिस्ट हुनुलाई नेपालको डिजिटल भुक्तानी क्षेत्रकै ठूलो उपलब्धिका रूपमा लिइएको छ। सुरक्षित र नवीन भुक्तानी समाधान विकास गर्दै आएको आइमार्कका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रामप्रसाद ढुङ्गानाले टोलीको निरन्तर मेहनत र साझेदारहरूको विश्वासका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न सफल भएको बताएका छन्।

यस मनोनयनले नेपालमा विकसित डिजिटल प्रविधिको सम्भावनालाई विश्व फिनटेक बजारमा चिनाउनुका साथै नेपाली प्रविधि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम रहेको पुष्टि गरेको छ।

Leave A Reply

Your email address will not be published.