काठमाडौं :
यस वर्षको दर्सैमा ‘छक्का पञ्जा ५’,‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले राम्रै कमाई गरे। तीन फिल्मले करोडौँ उठाएपछि नेपाली फिल्ममेकरहरु दसैंलाई लक्षित गर्दै धमाधम फिल्म घोषणा गर्न थालेका छन्।
निर्माण भइरहेका र हुन बाँकीको अहिलेसम्मको अवस्था हेर्दा आठवटा फिल्म आगामी फूलपातीमा रिलिज हुने पक्कापक्की भएका छन्।
निर्माणधिन रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’देखि ‘दशमी’, ‘परालको आगो’, ‘माइतीघर’ र ‘महाराजधिराज’का साथै ‘जारी २’, विराज भट्टको ‘१२ गाउँ २’ र अशोक शर्माको ‘डबल ट्रिपल’ गरी आधा दर्जन भन्दा बढि फिल्म फूलपातीलाई लक्षित प्रदर्शन मिति घोषणा गरिसकेका छन्।
फिल्म निर्माता रोहित अधिकारीले अघिल्लो वर्ष नै आफुले फिल्म हलमा लगाउनुपर्ने रहेछ भन्दै पछुतो मानेका छन्। यति धेरै फिल्मले यो वर्षको दसैँ रोजेपछि उनले चित्त दुखाएका हुन्।
‘ठुलो गल्ती गरिएछ। गएको दसैंमा फिल्म ‘फर्कि फर्किए फूलपातीमै लगाउनुपर्ने थियो,’उनले आइतबार साँझ फेसबुकमा लेखेको छन्,‘अब आइन्दा यस्तो गल्ती दोहोरिन्न । माइतिघर फूलपातीमा नै रिलिज हुनेछ विश्वभर एकसाथ। २०८२ दसैं फूलपाती माइतिघर।’
उनले यो फिल्मलाई कतै नसार्ने र एक हलमा एक शो पाए पनि प्रदर्शन गर्ने भन्दै आएका छन्। आइतबार निर्देशक दीपेन्द्र के. खनालले फूलपातीबाट फिल्म ‘हरिबहादुरको जुत्ता’प्रदर्शनमा ल्याउने जानकारी दिइसकेका छन्। उनले फेसबुकमार्फत आगामी दसैँको फूलपातीमा आफ्नो फिल्म प्रदर्शनमा आउने जानकारी गराएका छन्। यो फिल्मसँगै हलमा आधा दर्जनभन्दा बढि फिल्म प्रदर्शनमा आउने छन्।
यो फिल्ममा हरिवंश आचार्यको शीर्ष भूमिका र लेखन रहेको छ भने फिल्ममा प्रकाश सपूत, प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको पनि अभिनय छ। यहि समयमा अझैँ फिल्मको प्रदर्शन मिति तोकिने अनुमान गर्न थालिएको छ। किनभने नेपालमा यो वर्षमात्रै झण्डै २ सय वटा फिल्मले निर्माणका लागि इजाजत पत्र लिएका छन्।