सुचना, समाचार र मनोरन्जन

पोउवा संघमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

पोखरा/

नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय पोखराका मुख्य व्यवस्थापक दीपकराज लामिछानेले रोजगारी सिर्जनानै अहिलेको मौद्रिक नीतिको अन्तिम उद्देश्य भएको बताएका छन् । उनले दैनिक २२ सयको दरले नागरिक विदेशिनु कुनै पनि कोणबाट सही नभएको पनि बताए ।

मुख्य व्यवस्थापक लामिछाने बिहीबार पोखरा उद्योग वाणिज्य संघ तथा पृथ्वीनारायण क्याम्पसअन्तर्गतको अर्थशास्त्र विभागद्वारा आयोजित आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै थिए । उनले वास्तविक क्षेत्र अर्थात् कृषि, उद्योग र सेवा क्षेत्रको विकासले मात्र रोजगारी सिर्जना हुने पनि बताए । अर्थतन्त्रका सूचकाङ्कहरु सकारात्मक रहेको भन्दै उनले सरकारको खर्च गर्ने क्षमतामा भएको वृद्धिले बजार चलायमान बनाउने आशा पनि व्यक्त गरे ।

उनको कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा.डा. यादव शर्मा गौंडेलले अहिलेको मौद्रिक नीतिले वास्तविक क्षेत्रलाई अध्याँरोमा लैजान खोजेको आशंका जताए उनले मौद्रिक नीति आर्थिक नीतिको अधिनमा रहँदा यो अवस्था आएको पनि बताए ।

अर्का टिप्पणीकार प्रा.डा.लेखनाथ भट्टुराईले मौद्रिक नीति उपभोग बढाउनेतर्फ केन्द्रीत हुनुपर्ने बताए । दोस्रो चरणको आर्थिक सुधारका कार्यक्रम ल्याउन ढिला भएको बताउँदै उनले बजारलाई प्रतिस्पर्धी पनि बनाउने र संरक्षण पनि गर्नुपर्ने धारणा राखे ।

आर्थिक सूचकांकहरु नभए पनि उत्पादन एवं उद्योगहरुको ऋणात्मक बृद्धि अहिलेसम्म पनि ओरालो लाग्नु सकारात्मक संकेत नभएको बताए । बैंक तथा वित्तीय संस्थामा प्रसस्त मात्रामा तरलता रहे पनि निजी क्षेत्र ऋण लिएर व्यवसाय गर्न तयार नहुनुको कारण खोज्नुपर्ने उनको भनाइ थियो ।

‘निजी क्षेत्र उत्साहित नबनेसम्म अर्थतन्त्र मजबुत ुहुँदैन भन्ने तथ्यलाई नेपाल राष्ट्र बैंकले स्वीकार गरो््स् भन्ने हाम्रो आग्रह रहेको छ,’उनले भने,‘ बढ्दो मुद्रास्फिति रोक्न सकिएन भने अर्थात् जनताको भान्छा सस्तो भएन भने जे–जस्ता नीति लिए पनि त्यसले नागरिकलाई छुँदैन भन्ने कुरालाई विशेष ख्याल राखियोस् ।’
यो वर्षको सात महिनामा कुल ४ लाख ६५ हजार ५ सय ८ जनाले श्रम स्वीकृति एवं ५५ हजार ७७ जनाले पढ्नका लागि अध्ययन स्वीकृति लिएको तथ्याङ्कले पनि राम्रो संकेत नगरेको उनको भनाइ थियो ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विक्रम कर्माचार्य, पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव सुदीप प्रधानाङ्ग, पृथ्वीनारायण क्याम्पसका पूर्वक्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइराला, अर्थशास्त्र विभाग प्रमुख कमल ढकाल, अर्थशास्त्री कुञ्जराज थापा,व्यवसायीहरु थमनाथ अर्याल,सीता गुरुङ,अर्थशास्त्रका विद्यार्थी कृष्ण शर्मालगायतले विभिन्न जिज्ञासाहरु राखेका थिए ।

Leave A Reply

Your email address will not be published.