बागलुङ : फागुनः राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डमा १० किलोमिटर सडक कालोपत्र गरिएको छ ।
गुल्मी र बागलुङको सिमाना पालुङखोलादेखि बलेवासम्म पहिलो र बलेवादेखि मालढुङ्गासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर धमाधम काम भइरहेको छ । पालुङखोलादेखि बलेवासम्मको पहिलो खण्डमा पर्ने २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुङ्गासम्मको १० किलोमिटर खड्का/कृष्ण/बिएन जेबीले जिम्मा लिएर काम गरिरहेका छन् । हालसम्म पहिलो खण्डमा मात्रै कालोपत्र भएको कालीगण्डकी करिडोर आयोजना कार्यालयका सूचना अधिकारी अरुण खत्रीले जानकारी दिए ।
दोस्रो खण्डमा सडक फराकिलोे बनाउने, नाली निर्माण गर्ने र ‘रक कटिङ’को काम भइरहेको उहाँको भनाइ छ । अब पहिलो खण्डमा १४ र दोस्रो खण्डको १० किलोमिटर गरी २४ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको खत्रीले बताए । उहाँका अनुसार पालुङखोलादेखि बलेवासम्म ५० प्रतिशत र बलेवादेखि मालढुङ्गासम्म ७० प्रतिशत काम सम्पन्न भएको छ ।
त्रिदेशीय सडकका रुपमा रहेको करिडोर आयोजना १४ वर्ष अगाडि सुरु भएको थियो । आर्थिक वर्ष २०६७/६८ देखि सुरु भएको आयोजनाले जिल्लाको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकालाई जोडेको छ । जैमिनीमा १९ दशमलव पाँच किलोमिटर र बागलुङ नगरपालिकामा १४ दशमलव पाँच किलोमिटर पर्छ । नवलपुरको गैंडाकोटदेखि कोराला नाकासम्म ४९५ किलोमिटर रहेको करिडोर बागलुङको मालढुङ्गा २४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवा र भारतसम्म पुग्ने यात्रासमेत छोट्याइदिएको छ ।
करिडोर कालोपत्र हुन थालेपछि बागलुङबाट बुटवल, भैरहवालगायत ठाउँमा पुग्ने यात्रा छोटिएको स्थानीय सुनिल थापाले बताए । कच्चीमा फाटफुट सवारी साधन चले पनि अहिले मुक्तिनाथ जाने भारतीय तीर्थयात्रुले बढी यात्रा गर्न थालेको उनको भनाइ छ ।