काठमाडौं/
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई वार्ताका लागि बोलाएको छ ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति निकालेर आन्दोलन छाडेर वार्ताबाट समस्या सामाधान खोज्न नेपाल शिक्षक महासङ्घलाई आग्रह गर्नुभएको हो ।
‘शिक्षक समुदायसँग विगत झैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार तयार रहेकाले शिक्षा तथा कर्मचारीका प्रतिनिधिलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ’, उहाँले भन्नुभएको छ ।
प्रवक्ता सापकोटाले विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गर्नु भएको छ ।
‘विद्यालय शिक्षा विधेयक समयमै पारित गर्ने वातावरण सिर्जना गर्नका निमित्त सिङ्गो शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धताका बारेमा मन्त्रालय सदैव सकारात्मक छ’, प्रवक्ता सापकोटाले भन्नुभएको छ,‘शिक्षक समुदायका प्रतिनिधिसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने अपेक्षा रहनु र यस विषयप्रति शिक्षक तथा कर्मचारीको चासो रहनु स्वाभाविकै हो ।’
उहाँले विधेयक संसद्मा पेश हुने, छलफल हुने र स्वीकृति हुने विधायकी प्रक्रिया हुने स्मरण गराउनुभएको छ ।
विद्यालय शिक्षा विधेयक चाँडै पारित गराउन देशभरका शिक्षकहरुले अस्ति बुधवारदेखि काठमाण्डौमा प्रदर्शन थालेका हुन् ।
हिजो कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहित शिक्षक महासङ्घसँग सिंहदरबारमा बसेको बैठकमा शिक्षकका माग सम्बोधन गरेर नै छिटो विधेयक टुङ्ग्याउने कुरामा सहमति भएको छ।