काठमाडौं :
चैत २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पिताम्बर’को प्रचारप्रसार व्यापक भइरहेको छ। निर्माण टिमदेखि कलाकारहरु समेत अहिले जोडतोडका साथ आफ्नो फिल्म दर्शकमाझ पुर्याउन लागि परेका छन्। यसैबीच अभिनेता दिव्य देव पनि रहेका छन्।
उनी पछिल्लो समय निर्माता र निर्देशकको रोजाईको कलाकारमा पर्छन्। फिल्महरुमा सकारात्मक र नकारात्मक दुवै चरित्रमा देखिँदै आएका दिव्य देव यही हुने फिल्म ‘पिताम्बर’मा खलनायक चरित्रमा देखिँदैछन्।

यो फिल्ममा उनी ‘राहुल’को भूमिकामा देखिँदैछन्। उनले आफ्नो भुमिकाको बारेमा मिडियासँग खुलेर गफिएका छन्। उनी भन्छन्,‘मैले यसअघि कमर्सियल किसिमको फिल्म गरेको थिइनँ । यो लेभलको फिल्ममा पहिलोपटक काम गरेको हुँ। फिल्ममा मेरो फूल अन भिलेन अर्थात खलनायक चरित्र छ। मेरो लुक्स,पहिरन,तराईको परिवेश अनुसार भ्वाइस छ। म फिल्ममा क्रुर किसिमको छु। यो कथाभित्र म पात्रले जे काम गर्छ, त्यसले मेन प्रोटागोनिस्टको लाइफमा असर पार्छ । कथाको यात्राभित्र छिर्न उसले मुल क्यारेक्टर निभाएको हुन्छ।’
फिल्मको क्यानभास नवलपरासीको परासी वरपर रहेकाले फिल्ममा रहेका अन्य भिलेन साथीहरुजस्तै आफू पनि एक ठाउँको भिलेन रहेको दिव्यदेव खुलाउँछन्।
उनले थपे,‘फिल्ममा मैले जुन चरित्र निभाएको छु, त्यो चरित्र किन यस्तो भयो? उसले किन यस्तो क्रियाकलाप गर्छ। मैले निर्देशकलाई सोध्दै आफूले पनि सम्झँदै मेरो चरित्रको खाका बनाएको थिएँ। जुन यो फिल्ममा देखाएको छु।’
उनले आफुलाई यो क्यारेक्टर बनाउन निर्देशक कृषा चौलागाईंको ठुलो भुमिका रहेको बताए। उनले निर्देशकको तारिफ गर्दै भने,‘कृषाले मलाई क्यारेक्टरको बारेमा विस्तृत बताउनुभएको थियो। उहाँलाई केही सोध्दा पनि घुमाउरो खालको उत्तर आएन। त्यसबाट म प्रभावित भएँ।’