सुचना, समाचार र मनोरन्जन

‘म पो अलमलमा परेँ हौ’ भन्दै भावनाको न्यानोपनमा ‘ऊनको स्वीटर’

काठमाडौं :

फिल्म ‘ऊनको स्वीटर’को टिजरको आरम्भमै ’म पो अलमल अलमलमा परेँ हौ,’ ‘तमोर खोला,’ ‘फाक्ताङ्लुङ्ग,’ जस्ता शब्दहरू चर्चामा छन्। यही शब्दहरुले टिजरमार्फत नै दर्शकलाई भावनाको खोलामा बगाउँदै लगेको देखिन्छ।

फिल्मको मौलिक कथावस्तुको खोजीमा रहेका दर्शकहरूले यो फिल्ममार्फत एउटा नयाँ शिराबाट आएको कलात्मक प्रयासका रूपमा लिएका छन्। अटो लेख्ने जमानाका प्रेमी जोडीहरूको मिठो कथामा बनेको सुन्दर फिल्म हुनसक्ने आकलन दर्शकले गरेको सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाले प्रस्ट पारेको छ। यो टिजरले डिजिटल युगभन्दा अगाडिको युगमा फर्काउने प्रयास गर्छ। जुन हिजोको पुस्ताले आफ्नै किशोरकालीन फ्ल्यास ब्याकमा फर्कन्छन्।

आगामी वैशाख २६ गते प्रदर्शनमा आउन लागेको यो फिल्ममा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन्। उनीहरूका अतिरिक्त एलेक्स पारस, परीक्षा लिम्बु र विल्सन विक्रम राईको पनि प्रमुख अभिनय छ। यसको टिजरमा विपिन र मिरूनाको अभिनयमार्फत प्रेम र स्मृतिका तहहरू उजागर गर्ने प्रयास गरिएको छ, भने एलेक्स र परीक्षाले प्रेममा आउने संवेदनशील द्वन्द्वहरूलाई जीवन्त बनाएका छन्।

टिजरमा मिरूनाले दिएको डायरीमा विपिनले आफ्ना भावना शब्दमार्फत पोखेको दृश्य मन छुने खालको छ। मिरूनाको दृष्टिकोणले प्रेमका न्यानोपन,जटिलता र द्विविधालाई उजागर गरेको देखिन्छ।

‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को ब्यानरमा बनेको पहिलो फिचर फिल्म हो। निर्देशक नवीन चौहानकै लेखनमा बनेको फिल्ममा सुरज कटुवालको सह लेखन रहेको छ। फिल्मका गीतम सङ्गीत सुजन चापागाईँले दिएका छन्। सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरको पनि सशक्त उपस्थिति रहेको यो चलचित्रले प्रेम, स्मृति, र सम्बन्धका विविध तहलाई एउटै न्यानो स्वीटरजस्तो बाँध्ने प्रयास गरेको निर्देशनको कथन छ।

Leave A Reply

Your email address will not be published.