काठमाडौं :
हलमा प्रदर्शनरत फिल्म ‘अञ्जिला’को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक गरिएको छ। सोमवार सार्वजनिक गरिएको यो गीतलाई लोकराज अधिकारीले लेखेका हुन् भने सङ्गीत हरि लम्सालको रहेको छ।
गायिका बबिना किराँतीको स्वरमा रहेको गीतलाई निकै ऊर्जाशील र प्रेरणादायी मानिएको छ। गीत सार्वजनिक भएपछि निर्देशक मिलन चाम्सले उक्त गीत खेलकुद क्षेत्रमा विशेष हुने विश्वास व्यक्त गरे। उनले भने,‘यो गीत खेलकुद क्षेत्रको लागि एकदमै विशेष छ। अबदेखि हरेक खेल हुँदा स्टेडियममा यो गीत गुन्जिनुपर्छ । यो निकै ऊर्जाशील गीत हो, यसले राष्ट्र बोकेको छ, खेलाडी बोकेको छ, खेलकुद बोकेको छ । र, यो नेपालको लागि ‘स्पोट्र्स एन्थम’ हो। एन्फाले नै यो गीतलाई ‘स्पोट्र्स एन्थम’को लागि पहल गर्नुपर्छ ।’
गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ चौथो सातामा चलिरहेको छ । नेपालमा सुपरहिट साबित भइसकेको यस फिल्मलाई हाल नेपालीहरूको बसोबास रहेको विभिन्न देशहरूमा पनि प्रदर्शन भइरहेको छ ।यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ। एन्जिला आफैँले फिल्ममा मुख्य भूमिका निर्वाह गरेकी छन्। बाल्यकालदेखि लिएर व्यावसायिक खेल जीवनसम्मको उनको सङ्घर्ष र सफलताको कथा फिल्ममा प्रस्तुत गरिएको छ।
प्रेमकुमार श्रेष्ठ निर्माता रहेको यो फिल्ममा एन्जिला तुम्बापोसँगै प्रेमकुमार श्रेष्ठ,सुनिल थापा,दयाहाङ राई,विजय बराल,सिर्जना सुब्बा, माओत्से गुरुङ,सुमीन गुरुङ,बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।