काठमाडौं :
विभिन्न भुमिकामा आफुलाई अब्बल अभिनय गर्न सक्छ भन्ने छाप बसाएका अभिनेता विपीन कार्की पहिलो पटक एक्सन फिल्ममा उत्रिएका छन्। शुक्रबारबाट हलमा प्रदर्शन भइरहेको फिल्म ‘कर्मा’मा उनले एक्सन दृश्य दिएका छन्। उनको त्यो दृश्य हेर्नका लागि गायक तथा मोडल दुर्गेश थापाले दर्शकलाई सिफारिस गरेका छन्।
यो फिल्म हलमा प्रदर्शनमा आएसँगै निर्माण टिमल हल भिजिटमा व्यस्त छ। दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न विपीन र दिव्यदेव पन्त लगायतका कलाकारहरु दोडधुपमा छन्।
यस फिल्मको एउटा प्रमोसनल गीतमा दुर्गेशले समेत गाएका छन्। यस कारण पनि उनी फिल्म हेर्न हलमा पुगेका थिए। यो फिल्म हेरेपछि दुर्गेश भने,‘फिल्म राम्रो छ। गीतदेखि लिएर सबै पक्ष राम्रो छ। यदि यो चलचित्रलाई रेट गर्नुपर्यो भने म १० मा १० दिन्छु।’
दुर्गेशलाई फिल्ममा विपिन कार्कीको एक्सन मन परेको रहेछ। हल भिजिटमा भेट भएका विपिनको तारिफ गर्दै दुर्गेशले बबालै लागेको बताए।
उनले थपे,‘‘खासमा म आज विपीन दाइको एक्सन हेर्न भनेर आएको हो । दाइको कमेडी त पहिलेदेखि नै हेर्दै आएको हो, तर एक्सन कस्तो रहेछ भनेर हेर्न आएको थिएँ। बबालै लाग्यो।’
दुर्गेशको प्रशंसाा पाएपछि विपिन कार्की मख्ख परे। उनले भने, ‘एकदम खुसी लागेको छ। उत्साहजनक साथ दिनुभएको छ। म आफैं पनि बिहानदेखि दर्शकहरुसँग बसेर फिल्म हेरिरहेको छु।’
यस फिल्ममा विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल,अनिल बुढाथोकी,निर्मल शर्मालगायतको अभिनय छ।
सौरभ चौधरीको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको यस फिल्ममा समीर मियाको भीएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउन्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर र विजय बस्यालको पब्लिसिटी डिजाइन छ। आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ।