काठमाडौं :
शुक्रबारबाट हलमा प्रदर्शन भइरहेको फिल्म ‘ऊनको स्वीटर’मा समावेश गीत ‘चाइनेजो जिन्दगानीमा’ले दर्शक र श्रोताको मन जितिरहेको छ। यस गीतको भिडियोमा परीक्षा लिम्बू र एलेक्स पारसले प्रस्तुत गरेको प्रभावशाली नृत्यसँगै वरिष्ठ कलाकार दिलीप रायमाझी र निरुता सिंहप्रति सम्मान व्यक्त गरिएको छ।
त्यसैले पनि होला अभिनेत्री निरुता सिंहले पनि उक्त गीतमा देखिएको कलाकार द्वयको प्रस्तुतिको खुलेर प्रशंसा गरेकी छन्। भारतको मुम्बईमा रहेकी सिंहले कलाकार परीक्षा लिम्बू र एलेक्स पारससँग टेलिफोन संवादमा सिंहले भिडियो आफूलाई अत्यन्त मन परेको बताएकी छन्। उनले परीक्षाको नृत्य देख्दा आफूलाई त्यही क्षणमा फर्किएको महसुस भएको बताउँदै युवा कलाकारहरूले आफूलाई गीत समर्पण गरेकोमा आभार प्रकट गरिन्। एलेक्स पारसको नृत्यले दिलीप रायमाझीको झल्को दिएको उनले उल्लेख गरिन्।
गीतको भिडियोमा परीक्षा र एलेक्सलाई सन् २००१ मा सार्वजनिक भएको सुपरहिट फिल्म ‘दर्पण छाया’ को झल्को दिने शैलीमा प्रस्तुत गरिएको छ। विशेषतः नृत्यको हुकस्टेप पनि त्यही फिल्मको चर्चित गीत ‘त्यो डाँडा पारी’ सँग मेल खाने खालको राखिएको छ। चलचित्रमा एलेक्स पारसले दिलीप रायमाझीको प्रशंसकको भूमिका निर्वाह गरेका छन्।
यसैबीच, बुद्ध जयन्तीको अवसरमा परेको सोमबारको सार्वजनिक बिदाको दिन ‘ऊनको स्वीटर’ ले देशभर व्यापक दर्शक आकर्षण गरेको छ। अधिकांश हलमा फिल्मका शो हाउसफुल देखिएका छन्। शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म दैनिक ३ सयभन्दा बढी शो गरिरहेको र सोमवार थप शो प्राप्त गरेको वितरक गोविन्द शाहीले जनाएका छन्। सोमबारको बिदाका लागि देशभर थप शोहरू तोकिएको र फिल्मको व्यापार अझ राम्रो भएको छ।
नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ। ट्रेलर, टिजर र गीतहरूको सकारात्मक प्रभावले गर्दा ‘ऊनको स्वीटर’अहिले नेपाली बक्स अफिसमा चर्चा र सफलता दुवैले सुशोभित भइरहेको छ।